भारतमा सोमवार थप तीन प्रतिशतले सुनको मूल्य घट्यो, विज्ञ भन्छन्, अझै कति झर्छ थाहा छैन्

बिजमाण्डू
२०७० बैशाख २ गते ००:०० | Apr 15, 2013

मुम्बई । विश्वमा सुनको सबैभन्दा ठूलो खरिदकर्ता भारतमा सोमवार थप तीन प्रतिशतले मूल्य घटेको छ । कमोडिटी बजारमा जुनमा डेलिभरी दिने सुनको मूल्य साढे १५ महिनाकै न्युन मूल्यमा कारोवार भएको हो । भारतको मल्टी कमोडिटी एक्सचेञ्जमा सोमवार २.६४ प्रतिशतले कमि आएर प्रति दश ग्राम पाँच सय डलर(२७,१८९ भारु)मा कारोवार भयो ।
यो आधारमा मूल्य तय भए नेपालमा प्रतितोला सुनको मूल्य ५१ हजार रुपैयाँको आसपास रहनेछ । सोमवार मूल्य घटेपछि सुन ३० डिसेम्वर २०११ को तहमा झरेको हो । अन्तराष्ट्रिय बजारमा सोमवार बजार खुल्ने वित्तिकै सुनको मूल्यले युटर्न लिएको थियो तर सुरुवाती कारोवारमा बढेको मूल्य लामो सयमसम्म स्थिर रहन भने सकेन् ।
सुरुवातमा प्रतिऔंस सुन १४९५ डलरमा कारोवार भएको थियो, तर पछि घटेर यो १४२७ डलर प्रतिऔंसमा कारोवार भयो । पछिल्लो १२ वर्ष लगातार बढेको सुनको मूल्य सन् २०१२ लागेपछि मात्रै १४ प्रतिशतले घटिसकेको छ । सुनले १५ सय डलरको सर्पोटबाट तल झर्नु राम्रो संकेत होइन्, अब अर्को सपोर्ट कति हुन्छ, हामी भन्न सक्ने अवस्थामा छैनौं, हङकङको लि चोङ सुनका डिलर रोनाल्ड लेङ्गले भने ।
४७ हजारसम्म झर्ने सम्भावना
उता भारतको सुन बजारमा सोमवार प्रतिदश ग्राममा ८२५ रुपैयाँले मूल्य घट्यो । सोमवार बिहान प्रतिदश ग्राम २७ हजार एक सय भारुमा कारोवार भएको थियो । पछिल्लो दुई वर्षमा यो सबैभन्दा न्युनस्तर हो । आर्थिक विश्लेषकहरुले भारतमा सुनको गिरावट अझै हुने बताएका छन् । उनीहरुले प्रति दशग्राम सुनको मूल्य २५ हजार भारुसम्म झर्न सक्ने आंकलन गरेका छन् । सुन यो मूल्यमा झरे नेपालमा प्रति तोल सुनको मूल्य ४७ हजार रुपैयाँ हाराहारीमा आउनेछ ।
किन घटिरहेको छ ?
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएपछि लगानीकर्ताहरुले सुनमा भएको आफ्नो स्टक घटाएका छन्, उनीहरुले सुन विक्रीका लागि पठाएका कारण बजारमा क्रेताभन्दा विक्रेताको चाप छ । अमेरिकामा सुनको खुद्रा मूल्यमा आएको गिरावट र साइप्रसले वित्तीय मन्दीबाट पार पाउन सुन विक्री गर्ने भएपछि सुनको मूल्यमा असर परेको हो ।
सुन किन्ने यही हो त सही अवसर
प्रति तोला ६२ हजार रुपैयाँमा सुन खरिद गर्नेहरुलाई अहिलेको मूल्यले ठूलो झट्का दिएको छ । गत भदौ अन्तिममा सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको थियो । नेपाल सुन चाँदी व्यवसायी संघले सोमवारका लागि तोकेको मूल्यको आधारमा सुन भदौमाभन्दा नौ हजार रुपैयाँ सस्तो भएको छ । अन्तराष्ट्रिय बजारमा अब केही दिन सुन घट्ने विश्लेषण गरिएको छ, यो आधारमा केही दिन पर्खेर सुन किन्दा उत्तम हुन्छ । एजेन्सीहरूको सहयोगमा

Tata
GBIME