काठमाडौं । सोमवार सुनको मूल्यमा ३३ सय रुपैयाँको गिरावट आएको छ, यसले आन्तरिक बजारमा सुनको प्रतितोला मूल्य ५२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । साइप्रस संकटले अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ, यसको असर आन्तरिक बजारमा परेको हो । गत शुक्रवारसम्म प्रतितोला ५५ हजार आठ सय रुपैयाँमा कारोवार भएको सुन सोमवार एकैपटकमा ३३ सय घटेपछि ५२ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले आइतवारका लागि तेजावी सुनको मूल्य प्रतितोला ५२ हजार २५० रुपैयाँ तोकेको छ ।
बैशाखमा बिहेको मौसम सुरु नहुँदै घटेको सुनको मूल्यले यो सिजनमा विवाहबन्धनमा बाँधिने जोडीलाई भने लटरी लागेको छ । नेपालमा यसअघि पछिल्लो पटक २०६८ चैत २ गते ५२ हजार पाँच सय रुपैयाँमाको सुनको कारोवार भएको थियो । त्यसयता निरन्तर बढेको सुनको मूल्य २०६९ भदौ अन्तिममा अहिलेसम्मकै उच्च विन्दु प्रतितोला ६१ हजार आठ सय रुपैयाँमा कारोवार भएको थियो । सुन मात्र होइन चाँदीमा पनि ठूलो गिरावट आएको छ, प्रतितोला एक हजार पाँच रुपैयाँमा कारोवार हुँदै आएको चाँदी सोमवार भने ७० रुपैयाँले घटेर ९३५ रुपैयाँमा झरेको छ । आन्तरिक बजारमा सुन झण्डै १३ महिना अघिको मूल्यमा झरेको हो । सोमवारको मूल्यमा आएको गिरावट नेपालमा अहिलेसम्मकै एतिहासिक गिरावट पनि हो । यसअघि यति ठूलो मात्रामा सुनको मूल्य गिरावट भएको थिएन, नेपाल सुन चाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले भने । सुनको उच्च विन्दुबाट सोमवारको मूल्यमा मात्रै झण्डै नौ हजार रुपैयाँको गिरावट आइसकेको छ ।
बिजमाण्डूले शनिवार नै सुनको मूल्य ५३ हजार तल झर्ने प्रक्षेपणसहित समाचार प्रकासित गरेको थियो । विस्तृत यहाँ हेर्नुहोस् ।