साइप्रस संकटले सुनको मूल्य चौपट, आन्तरिक बजारमा घट्दै सुनको मूल्य, के ५३ हजार तल झर्ला

बिजमाण्डू
२०६९ चैत्र ३१ गते ००:०० | Apr 13, 2013

काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य २१ महिनाको न्युनस्तरमा पुगेको छ, बढ्दो वित्तीय संकट टार्न साइप्रसले आफ्नो रिजर्भमा रहेको सुन विक्री गर्ने भएपछि सुनको मूल्य तल झरेको हो । शुक्रवार सुन चार प्रतिशतले तल झरेर प्रतिऔंस १५ सय डलरभन्दा तल ओर्लिएको छ । अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १४९३.३५ डलरमा कारोवार भयो, साताभरमा सुन ५.३ प्रतिशतले तल झरेको हो, यो सन् २०११ जुलाई यताकै सबैभन्दा न्युन हो । अन्तराष्ट्रिय बजारमा सुन सेप्टेम्वर २०११ को उच्च विन्दुबाट झण्डै २२ प्रतिशत तल झरिकसकेको छ । सेप्टेम्वर २०११ मा सुन प्रतिऔंस १९२० डलर पुगेको थियो ।
अन्तराष्ट्रिय बजारमा घटेको सुनको मूल्यको प्रभाव नेपालको आन्तरिक बजारमा भने सोमवार मात्र देखिनेछ, आन्तरिक बजारमा सुन चाँदीको मूल्य तय गर्ने नेपाल सुन चाँदी व्यवसायी संघले शनिवारका लागि मूल्य तय गर्दैन्, आइतवार नयाँ वर्षको विदा परेकाले यसको असर सोमवार मात्र देखिनेछ ।
शनिवार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो उतारचढाव नभए आन्तरिक बजारमा सनुको मूल्यमा ठूलै गिरवाट आउनेछ ।
सुन मात्र होइन अन्तराष्ट्रिय बजारमा चाँदी पनि ५.१ प्रतिशतको गिरावट आएको छ, सुन र चाँदीको मूल्यमा आएको गिरावटले कच्च तेलको भाउमा पनि परेको छ । कच्चा तेल आठ महिना यताकै न्युन स्तरमा छ । युरोपियन युनियन र अन्तराष्ट्रिय मुद्रा कोषले संकट पार लगाउन साइप्रसले के गर्नुपर्दछ भन्ने विवरण तयार गर्न युरोपियन कमिसनलाई जिम्मा लगाएका थिए । कमिसनले यही साता साइप्रसलाई सुनको अतिरिक्त भण्डार विक्री गरेर ४० करोड युरो जुटाउन आग्रह गरेको थियो ।
साइप्रसले ठूलो मात्रामा सुन विक्री नगरे पनि, साइप्रसकका कारण चर्को ऋणमा परेका युरो राष्ट्र इटाली र प्रोचुगलमाथि पनि आफ्नो सुनको रिजर्भ विक्री गर्न दवाव परेको छ । विकासित राष्ट्रका केन्द्रीय बैंकहरुले केही दशकदेखि आफूसँग भएको सुनको रिजर्भ विक्री गर्दै आएका छन्, उनीहरु अझै पनि सुनको रिजर्भ बढाउनुपर्छ भन्ने पक्षमा छैनन्, यसले पनि सुनको अन्तराष्ट्रिय माग घटाएको छ, डान्स्के बैंकका विश्लेषक क्रिस्टिन टक्सेनले बताए ।
भारतको दिल्लीको सुन कारोवार हुने सराफा बजारमा शनिवार प्रतिदश ग्रामको २७ हजार नौ सय भारुमा कारोवार भयो, जबकी बिहिवार यही सुन २९ हजार ४७० भारुमा कारोवार भएको थियो । बिहिवारको तुलनामा शनिवार सुन झण्डै १६ सय रुपैयाँ भारुले तल झर्यो । यही रफ्तारमा नेपालमा सुनको मूल्य घटे सोमवार सुन तोलाको ५३ हजार रुपैयाँ तल आउनेछ  । शुक्रवार नेपालको बजारमा सुन प्रतितोला ५५ हजार आठ सय रुपैयाँमा कारोवार भएको थियो ।

Tata
GBIME
NLIC