नयाँदिल्ली । चीन र अमेरिकावीच शीतयुद्ध चलिरहेको छ तर अहिले भारत र अमेरिकावीच शितयुद्ध चलेको छ । तर अनौठो पारामा र अनौठो विषयका लागि । भारत र अमेरिकावीच आपसि सम्बन्ध सुमधुर रहेकै अवस्थामा शीत युद्धको सुरुवात भने अमेरिकी अखबार टाईम म्याग्जिनबाट भएको थियो । त्यसलाई टक्कर दिने काम गरेको छ भारतीय पत्रिका आउटलुकले ।
टाइमको १६ जुलाईको अंकमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहको बारेमा एक लेख प्रकासित गर्दै उनलाई अण्डर–एचिभर अर्थात सफलता प्राप्त गर्न नसकेको असफल नेताको ट्याग लगाएको थियो । यति मात्रै नभई म्याग्जिनले भारतीय प्रधानमन्त्री मनमोहन सिंहको तस्विरलाई कभर पेजमा छाप्दै त्यसमाथि ‘द अण्डर एचिभर’ शब्द पनि लेखेको थियो ।
टाइमको यो अंक बजारमा आए पछि भारतीय संचारमाध्यम र राजनीतिक वृतमा त्यसवारे खुबै चर्चा र बहस पनि भए । कांग्रेस आईका तर्फबाट गठबन्धन सरकारको नेतृत्व गरिरहेका सिंहलाई उनको दलले बचाउ गर्दै टाइम पत्रिकाको विश्लेषण पूर्वाग्रही भएको बताएको थियो भने विपक्षी दल भारतीय जनता पार्टीले टाईमको विश्लेषण यथार्थको नजिक भएको भन्दै सिंहको खिल्ली उडाएको थियो ।
पुरा देश नै दुई समूहमा विभाजित भएको त्यहि विषयलाई भारतीय म्यागजिन आउटलुकले पुनःउठाएको छ । आउटलुकले टाईमको जस्तै गरी २० जुलाईमा प्रकाशित नयाँ अंकको कभरपेजमा ओबामाको तस्वीर राखेर त्यसमाथि ‘द अण्डर एचिभर’ लेखेको छ ।
संयोग कस्तो छ भने, दुबै अखबारको विश्लेषण समेत एकै प्रकारको छ । टाईमले भारतलाई नयाँ सुरुवातको जरुरी भएको भन्दै ‘इण्डिया निड्स ए रीबुट’ लेखेको थियो, लेखमा सिंहको प्रधानमन्त्रीय क्षमतामाथि नै प्रश्न गरिएको थियो । ठिक यसैगरी आउटलुकले पनि, ‘अेमरिका निडेड अ रिबुट’ अर्थात अमेरिकालाई नयाँ सुरुवातको जरुरी छ भनेर लेखेको छ ।
आउटलुकको यो कदमलाई कसैले टाइमको नक्कल गर्दे ओबामाको बारेमा समाचार छापेर अखबारले विश्वव्यापी प्रचार गर्न खोजेको भनेका छन् भने कसैले देशभक्तिको संज्ञा दिएका छन् । आउटलुकका सम्पादन कृष्ण प्रसादले भने सस्तो लोकप्रियताको लागि ओबामाको साहारा लिएको भन्ने आरोपको खण्डन गरेका छन् ।
हामी अमेरिकामा हुन लागेको चुनाबलाई विशेष तरिकाले कभर गर्न चाहान्छौं । हामी राष्ट्रपति ओबामा र उनको चार वर्षे कार्यकालका बारेमा व्यापक खोज्ने प्रयास गरिरहेका छौं, विविसीसँग उनी भन्छन् । यसैगरी उनले सरकारको बचाउ गर्ने प्रयासको समेत खण्डन गरेको विविसीले उल्लेख गरेको छ । प्रसादका अनुसार टाइमलाई जवाफ दिने भन्दा पनि समाचारलाई रोचक तरिकाले प्रस्तुत गर्ने प्रयास गरिएको उनको दावी छ ।
उनी भन्छन, भारतिय वा गैर अमेरिकी कोणबाट टाइमको स्टोरी विश्लेषण गर्ने हो भने जुन आधारबाट मनमोहन सिंहलाई ‘अण्डरएचिभर’ भनियो त्यसको तुलनामा ओबामाको प्रदर्शन खासै फरक छैन । यो कुरा मान्ने वा नमान्ने तपाँईको विचार हो ।
सरकारको समर्थन गरेको भन्ने आरोपको खण्डन गर्दै प्रसाद भन्छन, सरकारको पक्ष लिइरहेको भन्नु पत्रकारीता र हाम्रा पत्रकारहरुको अपमान हुन्छ । हामी आफ्ना पाठक वाहेक कसैको पक्षमा बोल्दैनौ । उनका अनुसार स्टोरीमा ओबामाको समग्र उपलब्धिहरुलाई समेटिएको छ । ओबामाको चार वर्षे कार्यकाललाई समग्र विश्वले गरेको मूल्यांकन, भारतमा यस प्रतिको दृष्टिकोण र अमेरिका मै पनि उनको कार्यकालसम्बन्धी विश्लेषण यी सबै कुरा स्टोरीमा समाबेश गरिएको छ । स्मरणीय कुरा के छ भने टाइमले मनमोहन सिंहले आर्थिक रुपमा मुलुकलाई माथि उकास्न नसकेको कुरालाई प्रमुखताका साथ उठाएको थियो ।
प्रसादका अनुसार आउटलुकले मनमोहन सिंहलाई ‘अण्डरएचिभर’ भनेर टाइमले गल्ति ग¥यो भन्न खोजेको होईन तर मनमोहन सिंह ‘अण्डरएचिभर’ हुन भने यो आरोप ओबामा पनि लाग्न सक्छ । प्रसादले जे भनेपनि धेरैले बच्चाको जस्तो व्यवहार भन्दै आउटलुकको यो कदमको सामाजिक संजालमा निक्कै चर्चा गरेका छन् । यही विषयमा ट्विटरमा चलेका बहसमा धेरैले भारतमा आउटलुकको कभर पेजमा आउन सक्ने अन्य धेरै मुद्दाहरु हुँदा हुँदा ओबामाको तस्वीर पहिलो पेजमा छापेर उनलाई ‘अण्डरएचिभर’ किन भन्नु परेको थियो भनेर प्रश्न गरेका छन्
कतिपयले भने आउटलुक पत्रिकालाई नै रियल ‘अण्डरएचिभर’को ट्याग भिराईदिएका छन् भने कसैले आउटलुकले टाईमसँग बदला लिएको बताएका छन् । यसैगरी धेरैले आउटलुकको दावीमा केहि सत्यता भएको भन्दै उनले पुरा गर्न नसकेको केही वाचाहरु उल्लेख गरेका छन् ।
कुन दिन कसले हाम्रा प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पनि ‘एण्डरएचिभर’ भनिदिने हो र हाम्रोतर्फबाट कुन मिडियाले जवाफ फर्काउने हो ? मात्र हाम्रो चिन्ता यति हो ।