नेपाल बैंकलाई अझै एक वर्ष राष्ट्र बैंकले जिम्मा लिने, अपि, रारा र रोयलको मर्ज गर्न थप तीन महिना

बिजमाण्डू
२०६९ चैत्र १९ गते ००:०० | Apr 1, 2013
नेपाल बैंकलाई अझै एक वर्ष राष्ट्र बैंकले जिम्मा लिने, अपि, रारा र रोयलको मर्ज गर्न थप तीन महिना


काठमाडौं ।  नेपाल राष्ट्र बैंकले नेपाल बैंक लिमिटेडको व्यवस्थापन एक वर्ष आफैसँग राख्ने भएको छ । राष्ट्र बैंकले चैत मसान्तसम्मका लागि मात्र नेपाल बैंकको व्यवस्थापन जिम्मा लिएको थियो । सोमवार बसेको सञ्चालक समितिको बैठकले व्यवस्थापन थप एक वर्ष आफै चलाउने निर्णय गरेको हो । पुँजी वृद्धि हुने प्रकृयामा रहेको र पहिले निर्णय भइसकेका अचल सम्पतिहरु विक्री भइनसकेकाले राष्ट्र बैंकले एक वर्ष बैंकको व्यवस्थापन नवीकरण गरेको स्रोतले जानकारी दियो ।
नेपाल बैंकको व्यवस्थापन प्रमुखको जिम्मेबारी राष्ट्र बैंकका निर्देशक महेश्वरलाल श्रेष्ठले निर्वाह गरिरहेका छन् । सन् २००२ मा वित्तीय क्षेत्र सुधार कार्यक्रम सुरु भएपछि राष्ट्र बैंक नेपाल बैंकमा कुनै न कुनै रुपमा सहभागी हुँदै आएको छ । सुधार कार्यक्रमअन्तर्गत आएका विदेशीहरुको टोली फर्किएपछि बैंकको व्यवस्थापन पूर्ण रुपमा राष्ट्र बैंकले सञ्चालन गर्दै आएको छ । श्रेष्ठअगाडि राष्ट्र बैंकका तर्फबाट नेपाल बैंकमा विनोद आत्रेय व्यवस्थापन प्रमुख थिए ।
राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले अपि, रारा र रोयल मर्चेन्ट बैंकको मर्जका लागि थप तीन महिनाको समय थप गरेको छ । नौ महिना अघि रोयल मर्चेन्ट बैकिङ एन्ड फाइनान्स लिमिटेड, रारा विकास बैंक र अपि फाइनान्स लिमिटेड मर्जरमा जाने सहमति गरेका हुन् ।
रोयल राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हो भने रारा र अपी क्षेत्रीय स्तरका हुन् । अपी पश्चिमाञ्चल क्षेत्रमा तीन जिल्ला कार्यक्षेत्र भएको फाइनान्स हो भने रारा विकास बैंक मध्यपश्चिमाञ्चलमा तीन जिल्ला कार्यक्षेत्र भएको विकास बैंक हो । मर्जरमा जान सहमति जनाएका संस्थाहरुमा रोयल मर्चेन्ट र अपि फाइनान्स ‘ग’ वर्गका वित्तिय संस्था हुन् भने रारा विकास बैंक ‘ख’ वर्गको विकास बैंक हो ।
रोयल मर्चेन्टका सञ्चालक मधुरलाल सिन्हा, रारा बैंकका सञ्चालक आनन्द बराल र अपि फाइनान्सका सञ्चालक जगतबहादुर खड्काले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा हस्ताक्षरपछि सैद्धान्तिक सहमतिका लागि राष्ट्र बैंकमा निवेदन दिएको थियो । तर यो प्रक्रिया त्यति प्रभावकारी ढंगले बढेको छैन् । समयमा मर्ज प्रक्रिया टुङ्गोमा नपुगेपछि मर्जका लागि राष्ट्र बैंकले थप तीन महिना दिने निर्णय गरेको हो ।

Tata
GBIME