मौद्रिक नीति सोमवार सार्वजनिक हुने, ठूला परियोजनालाई राष्ट्र बैंकको प्रोत्साहन

बिजमाण्डू
२०६९ साउन ५ गते ००:०० | Jul 20, 2012
मौद्रिक नीति सोमवार सार्वजनिक हुने, ठूला परियोजनालाई राष्ट्र बैंकको प्रोत्साहन


काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ । शुक्रबारै सार्वजनिक गर्ने गरी बिहीबार सञ्चालक समितिमा छलफल गरिए पनि सवै विषयमा अध्ययन अपुरो भएको भन्दै मिति पर सारिएको हो । राष्ट्र बैंक सञ्चालक समितिको वैठक शनिवार पुनः बसेर मौद्रिक नीतिका बाँकी विषय टुङगो लगाउने छ । फ्रान्स गएका डेपुटी गभर्नर महाप्रसाद अधिकारी आइतबार मात्र आइपुग्ने भएकाले मौद्रिक नीति सोमबार सार्वजनिक गर्न लागिएको हो । मौद्रिक नीतिमा पुनर्कर्जा दरलाई केही घटाउने तयारी गरेको छ ।
अहिले बैंक दरमै बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जा उपलब्ध गराउँदै आएको राष्ट्र बैंकले बैंक दरभन्दा केही कममा उपलब्ध गराउने तयारी गरेको हो । राष्ट्र बैंकले पुनर्कर्जा बैंक दर अर्थात सात प्रतिशतमा उपलब्ध गराउँदै आएको छ । बैंकहरुले पुनर्कर्जाको पैसा ग्राहकलाई १० प्रतिशतमा लगानी गर्दै आएका छन् । जलविद्युत्, केवलकार, होटल, कृषि उद्योग, तथा अन्य पूर्वाधारमा १० प्रतिशत ब्याजको ऋण महँगो पर्ने भन्दै व्यवसायीहरुले घटाउन माग गरेपछि राष्ट्र बैंकले पुनर्कर्जा ६ प्रतिशतको हाराहारीमा उपलब्ध गराउने तयारी गरेको हो ।
राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको सीमासमेत फराकिलो पार्दैछ । बैंक तथा वित्तीय संस्थामार्फत उपलब्ध हुने विपन्न वर्ग कर्जाको माग भए पनि ऋण सीमाका कारण उपलब्धिमूलक हुन नसकेपछि यसलाई फराकिलो बनाउन लागिएको हो । राष्ट्र बैंकले सस्तो लागतको घर कर्जाको सीमा चार लाखबाट ७ लाख पु¥याउने तयारी गरेको हो । यसवाहेक महिला उद्यमी कर्जाको सीमासमेत वढाउने तयारी गरेको छ । अहिले महिला उद्यमी ऋणको सीमा ३ लाख छ । यसलाई पाँच लाख पु¥याउन लागिएको हो । राष्ट्र बैंकले घरेलु उद्योग, साना तथा मझौला उद्योग, सिमेन्ट, जलविद्युतलगायको क्षेत्रमा लगानी वढाउन बैंकहरुलाई प्रोत्साहित गर्ने नीतिको तयारी गरिरहेको छ । मौद्रिक नीतिले बैंक दर र अनिवार्य नगद अनुपातको दर भने परिवर्तन नगर्ने पक्का भएको छ । अहिले बैंक दर ७ प्रतिशत र अनिवार्य नगद अनुपातको दर ५ प्रतिशत छ ।
गभर्नर युवराज खतिवडाले १ खर्ब १३ अर्ब शोधनान्तर बचत र साढे सात प्रतिशत मूल्य वृद्धि भएको तथ्यांकसहित मौद्रिक नीति सार्वजनिक गर्ने छन् । चालु वर्षको शोधनान्तर बचतको लक्ष्य ६० देखि ७० अर्बको बीचमा राखिने स्रोतको भनाइ छ । मूल्यवृद्धि लक्ष्य साढे सात प्रतिशत राखिने छ । गत वर्षको मौद्रिक नीतिमा मूल्य वृद्धि सात प्रतिशत र शोधनान्तर बचत ४० अर्बको लक्ष्य राखिएको थियो । मौद्रिक नीतिमा बैंकरहरुले अनिवार्य नगद अनुपातको पैसामा पनि व्याज दिनु पर्ने मागलाई राष्ट्र बैंकले शंवोधन नगर्ने भएको छ । निक्षेपकर्ताको सुरक्षाका लागि पाँच प्रतिशत पैसा राखिने भएकाले त्यसमा ब्याज नदिइने राष्ट्र बैंक अनुसन्धान विभागका एक अधिकृतले जानकारी दिए । बैंकहरुलाई सोझै भारतीय मुद्रा खरीदको अधिकार दिनु पर्ने मागलाई पनि राष्ट्र बैंकले वेवास्ता गर्ने भएको छ । राष्ट्र बैंकले मागेजति भारु उपलब्ध गराएकाले बैंकहरुलाई वेग्लै खरीदको अधिकार नदिइने स्रोतले बतायो । राष्ट्र बैंकले भारुको दुरुपयोग वढ्ने भन्दै बैंकलाई खरिद गर्न नदिने भएको हो ।

Tata
GBIME
Nepal Life