
काठमाडौं । नबिल बैंकको सेयर मूल्यमा भएको ठूलो वृद्धिले पनि बैंकिङ्ग समूहको सूचकलाई कभरअप गर्न सकेन, साताको अन्तिम कारोवारी दिन बैंकिङ्ग समूहको सूचक डेढ अंकले तल झरेर बन्द भयो । विकास बैंक, इन्सुरेन्स र अन्य समूहको सूचकमा सुधार देखियो, होटल र फाइनान्समा सामान्य गिरावट आए पनि जलविद्युत समूहको सूचकमा भने १५ अंकको गिरावट आयो ।
बुटवल पावरको सेयरमा बिहिवार १४ रुपैयाँको गिरावटसहित प्रतिकित्ता ७७५ मा कारोवार भयो भने छिमेक लघुवित्त विकास बैंकको सेयर १० रुपैयाँले बढेर प्रतिकित्ता चार सय पुग्यो । चिलिमे जलविद्युतको सेयर मूल्य समेत ११ रुपैयाँ तल झरेर ११७४ मा, नागरिक लगानी कोषको २८ रुपैयाँ झरेर १३७७ मा, एभरेष्ट बैंकको पनि ११ रुपैयाँ झरेर १५८९ मा कारोवार भयो । जनता बैंकको सेयर १३ रुपैयाँले घटेर १८३ मा, नेपाल बंगलादेश बैंकको १० रुपैयाँ घटेर ३४० मा, नेपाल बैंकको २८ रुपैयाँ घटेर ६३२ मा, नेपाल क्रेडिट एण्ड कमर्सको १२ रुपैयाँ घटेर २३५ मा, नेपाल इन्भेष्टमेन्ट बैंकको पनि १२ रुपैयाँ घटेर ७९८ मा कारोवार भयो । नेशनल लाइफ इन्सुरेन्सको सेयर १० रुपैयाँ बढेर ६६५ मा कारोवार भयो भने प्राइम बैंकको सेयर १६ रुपैयाँ घटेर ३३० मा कारोवार भयो । सगरमाथा इन्सुरेन्सको सेयरमा समेत बिहिवार २० रुपैयाँको वृद्धि भएर १०२० मा कारोवार भयो ।
सिद्धार्थको बोनस र हकप्रद
दश करोड रुपैयाँ चुक्ता पुँजी भएको सिद्धार्थ इन्सुरेन्सले सेयरधनीलाई बोनस सेयर हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । कम्पनीले आगामी साधरणसभाका लागि ३२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । बोनस सेयर वितरणपछि हुने सेयरमा कम्पनीले दश बराबर नौ सेयर दिने प्रस्ताव पनि गरेको छ ।
आगामी आर्थिक वर्ष भित्र चुक्ता पुँजी ५० करोड पुर्याउन इन्सुरेन्स कम्पनीले यो वर्ष बोनस र हकप्रदको प्रस्ताव गरिरहेका छन् । बोनस सेयर वितरणपछि सिद्धार्थको चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँ पुग्नेछ । यो चुक्तापुँजीमा हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ ।
सिद्धार्थले चैत १८ गतेका लागि साधरणसभाको प्रस्ताव गरेको छ, चैत ४ गतेदेखि १८ गतेसम्म इन्सुरेन्सको शेयर दाखिला खारेज बन्द हुने पनि जानकारी दिइएको छ । इन्सुरेन्सले बोनस सेयर वितरणका लागि कर प्रयोजनमा आवश्यक पर्ने १६ लाख ८४ हजार रुपैयाँ समेत आफै दिनेछ ।
बोनस र हकप्रद सेयर जारी गर्ने इन्सुरेन्सको निर्णयपछि विहिवार कम्पनीको सेयर मूल्य २० रुपैयाँले बढेको छ । झण्डै १० प्रतिशतले सेयर मूल्य बढेपछि प्रतिसेयर २२१ रुपैयाँ पुगेको छ ।