
जब उनी छ वर्षका थिए, उनले घोषणा गरे, म एयरलाइन्स चलाउँछु । उनका फिजिसियन पिता आश्चर्यचकित हुँदै भने, तैंले हिल्टन होटलको ढोकामा मात्रै उभिस् भने पनि म खुशी हुनेछु । उनी हिल्टनको होटलमा मात्र उभिएनन्, उनी त्यहाँबाट अझ अगाडी बढे । उनी भन्थे, मार्केटिङ मेरो रगतमा छ, किनकी मेरी आमा प्लाष्टिकका सामान विक्री गर्ने सफल व्यवसायी हुन् ।
प्रसङ्ग हो ४८ वर्षे एन्टोनी फ्रान्सिस फर्नान्डेज, जसलाई टोनी फर्नान्डेजका नामले पनि चिनिन्छ, फिजिसियन पिता र प्लास्टिकका सामान बेच्ने आमाका यी मलेसियाली छोरासँग अहिले ६१ करोड डलरको सम्पत्ती छ । जोसँग अहिले पुरै एशियाको सबैभन्दा ठूलो बजेट एयरलाइन्स एयर एशिया नाम गरेको ब्राण्ड छ ।
टोनी जसले बुधवार मात्रै घोषणा गरे, म भारतमा पनि विमान कम्पनी चलाउन चाहान्छु, उनले त्यसका लागि साझेदार बनाएका छन्, भारतमा सबैभन्दा सफल र ठूलो व्यवसायिक घराना टाटा समूह र भारतीय मुलका विश्वका धनीमध्येका एक लक्ष्मी मित्तलका एक्ला ज्वाईं अरुण भाटियालाई ।
फर्नान्डेज जसले १२ वर्षको उमेरमा बेलायतको एप्सम कलेजमा भर्ना लिनका लागि मलेसिया छाडे, लण्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातक गरे । उनले आफ्नो क्यारिअरको पहिलो यात्रा वारेन बफेटको कम्पनीमा एकाउण्टेन्ट भएर सुरु गरे, पछि रिचर्ड ब्रासनको भर्जिन कम्युनिकेशनमा काम गरे । सन् १९९२ मा उनी मलेसिया फर्किए अनि म्युजिक उद्योगमा काम थाले । उनले वार्नर म्युजिकको सबैभन्दा युवा प्रवन्ध निर्देशकका रुपमा काम गरे । उनले त्यहीँ गिटार र पियानो बजाउन सिके, अनि मलेसियाको परम्परागत धुनलाई देशको मुलधारमा ल्याए ।
जोखिम मोल्न तयार फर्नान्डेजले म्युजिक उद्योग छाडे, सेप्टेम्वर ११ मा अमेरिकामाथि भएको आतंककारी आक्रमणपछि अन्धकारमा धकेलिएको एयरलाइन्स उद्योगमा पाइला चाल्ने निर्णय गरे । अक्टोवर २००१ मा फर्नान्डेजले आफ्नो घर बैंकमा धितो राखे अनि विमान कम्पनी किन्न हिंडे ।
उनले एक रिंगिट (अहिलेको विनिमयदरमा नेपाली २८ रुपैयाँ)मा विमान कम्पनी किने पनि, यसको अर्थ उनले एक रिंगेटमा बोइङ ७३७ का दुई विमान पाए, दुई सय कर्मचारीको जिम्मा अनि, त्यससँगै पाए एक करोड १० लाख डलर ऋणको जिम्मा । (सरकारले सञ्चालन गरिरहेको बिमान कम्पनी ठूलो घाटामा थियो, त्यसलाई थप चलाउनु अझ बढी घाटा खानु थियो, त्यसैले सरकारले त्यो कम्पनी फर्नान्डेजलाई एक रिंगेट लिएर जिम्मा दियो ।)
आश्चर्य भयो, एक वर्ष पछि फर्नान्डेजले चलाउन थालेको विमान ब्रेक इभनमा आयो, त्यसपछि उनले पछि फर्केर हेरेका छैनन् । अहिले पश्चिमसँग माइकेल ओ’लियरी सिईओ भएको डब्लीनको रायन एयर छ, जसलाई युरोपीहरुले सबैभन्दा मन पराएका छन् । पूर्वसँग टोनी फर्नान्डेज सिईओ भएको बजेट एयरलाइन्स एयर एशिया छ ।
फर्नान्डिज यो विश्वका एक्ला त्यस्ता एयरलाइन्स प्रमुख हुन, जोसँग सस्तो टिकट भन्ने बोली मात्रै होइन साँच्चिकै टिकट पनि छ । गतवर्ष उनले फर्मुला वान रेसिङ्ग टिम किने, उनीसँग स्पोर्टस कार उत्पादन गर्ने बेलायती कार्टरहाम छ, उनले फुटवल क्लव क्विन्स पार्क रेन्जर पनि आफ्नो पोर्टफोलियोमा पारेका छन् । उनले अहिले मलेसियाको एयर एशिया जस्तै थाइल्याण्ड, इन्डोनेसियामा विमान कम्पनी चलाइरहेका छन् । पिताको पुख्र्यौली थलो भारतमा एयर एशिया इण्डिया लिएर छिर्ने अन्तिम तयारीमा जुटेका छन् ।
उनले केही वर्ष अघि फर्मुला वान रेसिङ्गमा बाजी थापे, त्यो पनि चानचुने मान्छेसँग होइन, चार सय कम्पनीका मालिक रिचर्ड ब्रासनसँग, ब्रासन त्यही व्याक्ति हुन्, जसको भर्जिन कम्पनी फर्नान्डेजले कुनै समय एकाउण्टेन्ट भएर काम गरेका थिए । फर्मुला वान जसले हार्छ, त्यसले विपक्षको एयरलाइन्समा, उसैको डे«स लगाएर, रौं खौरिने, एयर होस्टेस भएर एक दिन यात्रीलाई सर्भ गर्ने ।
ब्रासनले फर्मुला वानमा हार खाए, उनले अहिलेसम्म एयर एशियामा स्टेवर्डको काम गर्न पाएका छैनन्, तर फर्नान्डेजले भनेका छन्, ब्रासनले यही वर्षको मार्चमा एक दिन एयर एशियामा सर्भ गर्नेछन् । तर उनले यात्रीलाई के भन्लान्, फर्नान्डेज जोक गर्छन्, ब्रासनले एयर एशियाका यात्रीलाई सोध्नेछन्, कफि, टि अर मी ? किनकी ब्रासन पनि कम्ताका रोमान्टिक छैनन् । (पत्याउनुहुन्न भने यो लिंक क्लिक गर्नुहोस्)