काठमाडौँ । नेपाल विद्युत प्राधिकरण सुधार अभियानमा असहयोग गर्ने तीन जना सञ्चालकले उर्जा मन्त्रालयबाट प्रष्टिकरणका लागि काटिएको पत्र बुझ्न अटेर गरेका छन्। पत्र नबुझेपछि मन्त्रालयले गोरखापत्रमा उनीहरुको नाम प्रकाशित गरि सात दिन भित्र प्रष्टिकरण बुझाउन निर्देशन दिएको छ।
सञ्चालकहरु मनोज कुमार मिश्र, लक्ष्मण प्रसाद अग्रवाल र सुरज लामिछानेले प्राधिकरणको सुधार अभियानलाई अनेक बहानाबाजी गरेर अवरोध पुर्याउँदै आएका थिए।
मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनामा भनिएको छ- ‘प्रष्टिकरण पेश गर्ने सम्बन्धि पत्र यहाँहरुको घर कार्यालयमा बुझाउन जाँदा उपलबध्न नभएको र घरपरिवारबाट समेत बुझ्न इन्कार गरेको हुँदा यो सूचना प्रकाशित गरिएको छ।’
उनीहरुलाई कारबाही गर्नेबारे गत १७ मंसिरमा उर्जा मन्त्री जनार्दन शर्माले निर्णय गरेका थिए।
मंसिर १० गते आयोजित प्राधिकरणको बोर्ड बैठकमा कम्पनी मोडलमा नयाँ परियोजना अघि बढाउने, इन्जिनियरिङ एवं पावर ट्रेडिङ कम्पनी खोल्ने जस्ता प्राधिकरण सुधारका प्रस्ताव उनीहरुले पारित गर्न दिएका थिएनन्। त्यसको दुई दिन पछि तीन जनाले हस्ताक्षर गरि सञ्चालक समितिको निर्णय भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ बिरुद्ध प्रचारबाजी गरेका थिए।
तिनै विषयमा मन्त्रालयले उनीहरुलाई कारबाहीको तयारी गरेको हो। सात दिन भित्र जवाफ नदिए वा दिए पनि चित्त बुझ्दो नभए मन्त्रालयले उनीहरुलाई बर्खास्त गर्नेछ।












