
हेटौँडा । प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतसँग द्विपक्षीय लगानी संरक्षण सम्झौंता(विप्पा) स्वदेशमा लगानी भित्र्याउन गरिएको बताएका छन् । ‘विप्पा सम्झौंता गर्दा कुनै राष्ट्रघात गरिएको छैन । यो मुलुकको आर्थिक समृद्धिका लागि गरिएको हो,’ एकीकृत माओवादीको हेटौंडामा भइरहेको महाअधिवेशनको बन्दसत्रमा दलका नेता तथा कार्यकताको जवाफ दिँदै उनले भने, ‘यस्तो सम्झौंताले मुलुकको आर्थिक विकास भएकोले राष्ट्रघाती भन्नु गलत हो ।’
प्रधानमन्त्री भट्टराईले भारतसँग विप्पा गरेका थिए । उनले विश्वमा यस्ता धेरै सम्झौंता भएको बताउँदै अरु मुलुकमा राष्ट्रघात नहुने तर नेपालमा त्यही सम्झौता गर्दा राष्ट्रघात हुने भनेर प्रतिप्रश्न गरेका थिए ।
धेरै अघिदेखि विचाराधिन रहेको विप्पा सम्झौंता भट्टराईको पालामा भएको थियो । महाधिवेशनमा उपप्रधान तथा परराष्ट्रमन्त्री एवं माओवादीको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारतसँग विप्पा गरेर राष्ट्रघात गरिएको भन्दै यसको बारेमा स्पस्ट हुनुपर्ने भनाई राखेका थिए । श्रेष्ठले विप्पा सम्झौंता हुँदा कुनै प्रतिक्रिया जनाएका थिएनन् तर पछिल्लो समयमा आएर उनले विप्पा सम्झौंता राष्ट्रहित विपरित भएको टिप्पणी गर्दै आएका छन् ।