भारतमा ठूला कम्पनीको कार विक्री घट्यो, विक्री बढेको हुण्डाइले मूल्य पनि बढायो

बिजमाण्डू
२०६९ माघ २२ गते ००:०० | Feb 4, 2013
भारतमा ठूला कम्पनीको कार विक्री घट्यो, विक्री बढेको हुण्डाइले मूल्य पनि बढायो

नयाँदिल्ली । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीको बिक्रीमा कमि आएको छ । यसका अलवा फोर्ड र  टोयटाको बिक्रीमा पनि कमी आएको छ । सन् २०१३ को पहिलो महिनामा मारुतीको बिक्रीमा १.०६ प्रतिशतले घटेर कुल एक लाख १४ हजार २०५ युनिट कार बिक्री भएका छन अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले एक लाख १५ हजार चार सय ३३ युनिट कार बिक्री गरेको थियो ।
मारुतीको घरेलु बजार भारतमा कारको बिक्रीदर भने १.९६ प्रतिशतले बढेको छ । कम्पनीले भारतमा एक लाख तीन हजार २६ युनिट कार विक्री गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले एक लाख एक हजार ४७ युनिट कार बिक्री गरेको थियो । कम्पनीको निर्यातमा भने २२.२९ प्रतिशतले कमी आएको छ । मारुती कारको ठूलो आयातकर्ता देशमध्ये नेपाल एक हो ।
त्यस्तै फोर्ड इडियाको लागि पनि यो वर्षको पहिलो महिना सुखद रहेन,  जनवरीमा फोर्डको बिक्री ३४.०५ प्रतिशतले घटेर सात हजार एक सय १५ युनिटमा सिमीत भएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १० हजार ७ सय ८९ युनिट कार बिक्री गरेको थियो । कम्पनीले घरेलु बजारमा पनि जनवरीमा  ३३.६५ प्रतिशतले कमी अर्थात ६ हजार ६२ युनीट कार मात्र बिक्री गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले नौ हजार एक सय ३७ युनिट कार बिक्री गरेको थियो ।
जनवरी महिनामा टोयटा कारको बिक्रीमा पनि २३.३७ प्रतिशतले कमि आएको छ ।  जनवरी महिनामा कम्पनीले १३ हजार तीन सय २९ युनिट कार बिक्री गरेको छ गत वर्षको यसै अवधिमा टोयटाले १७ हजार तीन सय ९५ युनिट कार बिक्री गरेको थियो । जनवरीमा टोयटाले एक हजार ७ सय ९१ युनिट कार निर्यात गरेको छ ।
भारतको दोस्रो ठूलो कार निर्माता कम्पनी हुन्डाइ इन्डिया, महिन्द्रा तथा रेनो इन्डियाको कार बिक्रीमा भने वृद्धि भएको छ । हुन्डाइको जनवरी २०१३ मा कुल बिक्रीदर ४.२५ प्रतिशतले बढेर ५२ हजार २४ युनिट कार बिक्री भएका छन । गत वर्षको यसै अवधिमा कम्पनीले ४९ हजार नौ सय एक युनिट गाडि बिक्री गरेको थियो । घरेलु बजारमा कम्पनीको बिक्री दर १.१९ प्रतिशतले वृद्धि भएको छ भने निर्यातमा १०.७६ प्रतिशतले वृद्धि भएको छ ।
महिन्द्राको बिक्रीदर जनवरीमा १०.७० प्रतिशतले वृद्धि हुँदै ४९ हजार ५०३ युनिट कार बिक्री भएका छन । गत वर्षको यसै अवधिमा कम्पनीले ४४ हजार ७ सय १८ युनिट कार बिक्री गरेको थियो । घरेलु बजारमा कम्पनीको बिक्रीदर १५.६७ प्रतिशतले बढेको छ भने निर्यातमा पनि वृद्धि भएको छ ।
रेनो इन्डियाको बिक्रीदर भने यो वर्ष पाँच गुणाले बढेको छ । जनवरी २०१३ मा कम्पनीले चार हजार ९ सय १४ युनिट कार बिक्री गरेको छ जबकि गत वर्षको यसै अवधिमा कम्पनीले ८८५ युनिट मात्र कार बिक्री गरेको थियो ।
विक्री बढेसँगै भारतको दोस्रो ठुलो कार उत्पादक कम्पनी हुन्डाइ इन्डियाले आफ्ना सबै कारको मुल्यमा पनि वृद्धि गरेको छ । बढदो उत्पादन लागत र मुद्राको विनिमय दरमा भइरहेको उतार चढावको प्रभावबाट जोगिन मूल्य बढाउनु परेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले एवनको मुल्य पाँच हजार रुपैयाँ तथा सान्टा फे को मुल्य २० हजार ८ सय ७८ भारतीय रुपैँयाले वृद्धि गरेको छ ।
यस्तै कम्पनीले सेन्ट्रोको मूल्य चार हजार दुइ सय भारतीय रुपैयाँ, आइ–१० को मुल्य पाँच हजार, आइ–२० (पेट्रोल) को मुल्य आठ हजार छ सय ८५ तथा आइ–२०(डिजेल) को मुल्य पाँच हजार सात सय आठ रुपैयाँ (भारतीय मुद्रा) वृद्धि गरेको जानकारी गराएको छ । मुल्य वृद्धिको असर कम्पनीका महंगो मुल्यका कारमा पनि परेको छ । गत महिना मारुतीले पनि आफ्ना कारको  मुल्यमा २० हजार भारतीय रुपैयासम्म वृद्धि गरेको थियो
 

Tata
GBIME
Nepal Life