नबिल बैंकको वित्तीय प्रतिवेदन उत्कृष्ट, पायो दक्षिण एसियाकै प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’

बिजमाण्डू
२०८३ मंसिर १३ गते ११:५२ | Nov 29, 2026
नबिल बैंकको वित्तीय प्रतिवेदन  उत्कृष्ट, पायो दक्षिण  एसियाकै प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’

काठमाडौं। उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंक दक्षिण एसियालीस्तरमा सम्मानित भएको छ। दक्षिण एसियाका निजी क्षेत्रका बैंकमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत नबिल सम्मानित भएको हो।

GBIME
Tata

बंगलादेशमा शनिबार आयोजित विशेष समारोहमा नबिल बैंकका सञ्चालक सइद मन्सुर मुस्तफाले अवार्ड ग्रहण गरेका छन्।बैंकले सन् २०२४/२५ को वार्षिक प्रतिवेदनका लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले ‘साफा मेरिट अवार्ड’ प्रदान गरेको हो।

वित्तीय विवरणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनका मापदण्ड पालना गरेको भन्दै साफाले आफूलाई अवार्ड प्रदान गरेको नबिलले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज कुमार ज्ञवालीले साफा मेरिट अवार्ड प्राप्त गर्नु नबिलका लागि मात्र नभई नेपालको बैंकिङ क्षेत्रका लागि पनि गर्वको विषय भएको बताए।

‘साफा मेरिट अवार्ड प्राप्त हुनु हाम्रा लागि गौरवको विषय हो। साथै, यसले नेपालको बैंकिङ क्षेत्रले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको विश्वसनीयता र व्यावसायिक उत्कृष्टतालाई समेत प्रतिबिम्बित गर्छ। यो सम्मान कुनै एक वर्षको उपलब्धि मात्र नभई वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनलाई निरन्तर अभ्यासका रूपमा आत्मसात् गर्दै आएको हाम्रो प्रतिबद्धताको क्षेत्रीयस्तरमा भएको मूल्याङ्कन हो,’ ज्ञवालीले भने।

नबिलले यसअघि आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा साफा मेरिट अवार्डबाट सम्मानित भएको थियो।