यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड स्कुटर नेपाली बजारमा, मूल्य ३ लाखदेखि ३.६० लाखसम्म

बिजमाण्डू
२०८३ मंसिर ११ गते १८:०५ | Nov 27, 2026
यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड स्कुटर नेपाली बजारमा, मूल्य ३ लाखदेखि ३.६० लाखसम्म

काठमाडौं। यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले बजारमा नयाँ स्कुटर ल्याएको छ। कम्पनीले यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड स्कुटर शुक्रबार सार्वजनिक गरेको छ।

GBIME
Tata

एमएडब्लूका संस्थापक विष्णु कुमार अग्रवालले एक समारोहबीच स्कुटर सार्वजनिक गरेका हुन्। यो स्कुटर नेपालमा ३ वटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीले फ्यासिनो ड्रमको मूल्य २ लाख ९९ हजार ९००, फ्यासिनो डिस्कको मूल्य ३ लाख २९ हजार ९०० र फ्यासिनो एसको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ राखेको छ।

कम्पनीका अनुसार फ्यासिनो हाइब्रिडमा १२५ सीसीको फ्युल इन्जेक्सनयुक्त इन्जिनसँगै यामाहाको स्मार्ट मोटर जेनेरेटर जडान गरिएको छ।

यो इलेक्ट्रिक मोटरले इन्जिनलाई आवाज नगरी स्टार्ट गर्न मद्दत गर्छ र स्कुटर रोकिएको अवस्थाबाट अघि बढ्दा थप शक्ति पनि प्रदान गर्छ। यसले इन्धन खपत कम गर्न र माइलेज बढाउन मद्दत गर्छ।

साथै, केवल ९८ किलोग्राम तौल भएको यसको हलुका बनावट, आरामदायी सिट र साइड स्ट्यान्डमा इन्जिन बन्द हुने स्विचले दैनिक प्रयोगलाई सहज र सुरक्षित बनाउने कम्पनीले जनाएको छ।