स्याफ्रुबेसीमा मंसिर मसान्तसम्म बेलिब्रिज सञ्चालनमा आउने, वारिपट्टि सकियो फाउन्डेसनको काम

बिजमाण्डू
२०८३ मंसिर ११ गते १७:५३ | Nov 27, 2026
स्याफ्रुबेसीमा मंसिर मसान्तसम्म बेलिब्रिज सञ्चालनमा आउने, वारिपट्टि सकियो फाउन्डेसनको काम

काठमाडौं। रसुवाको स्याफ्रुबेसीमा मंसिर मसान्तसम्म बेलिब्रिज सञ्चालनमा आउने भएको छ।

GBIME
Tata

बेलिब्रिज जडानका लागि पुलको वारितर्फ फाउन्डेसन निर्माणको काम सकिएको छ भने पारिपट्टि पुलको जग ढलानको काम अघि बढाइएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अर्को शुक्रबारदेखि बेलिब्रिज जडानको काम सुरु गर्ने तालिका रहेको जानकारी दिए।

‘स्याफ्रुबेसीमा पुलको वारितर्फ फाउन्डेसन निर्माणको काम सकेका छौं। अब बेलिब्रिजका सामग्री फाउन्डेसनसम्म पुर्‍याउने तयारी छ,’ उनले भने, ‘खोलामा पानीको बहाव उच्च हुँदा मेसिन तथा उपकरण पारि लैजान निकै कठिनाइ भयो। लामो प्रयासपछि मेसिन खोला पारि पुर्‍याएर पुलको जग ढलानको काम अघि बढाएका छौं।’

मन्त्री लम्सालले मंसिर अन्तिम साता पुल सञ्चालनमा आउने बताए। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेसीको पुल बगाएका कारण अहिले बेलिब्रिज जडान गर्न लागिएको हो।