भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृतक घोषणा गर्न सिफारिस, ६२३ विदेशी

बिजमाण्डू
२०८३ मंसिर १० गते १८:५९ | Nov 26, 2026
भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृतक घोषणा गर्न सिफारिस, ६२३ विदेशी
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक

काठमाडौं। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले भोटेकोशी नदीको बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृतक घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ।

GBIME
Tata

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८‍औं बैठकले ४८ जिल्लाबाट यकीन भई आएका ३ हजार २९२ स्वदेशी तथा १९ विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना गरी कुल ३ हजार ९१५ जनालाई मृतक घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्‌‌मा परी बेपत्ता व्यक्तिलाई सरकारले मृतक घोषणा गर्न सक्ने प्रावधान छ।

यो निर्णय गर्नुअघि प्राधिकरणले स्वदेशी व्यक्तिका हकमा सम्बन्धित स्थानीय तहबाट भएको सिफारिसका आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित तथा विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूची उपर दाबी पेस गर्न दुई चरणमा सात दिने सूचना निकालेको थियो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक

बैठकले सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र २०८३-२०८७ स्वीकृत गरेको छ। मार्गचित्रले २०८७ सम्म नेपालका सबै समुदायलाई प्रकोप पूर्वसूचना उपलब्ध गराउन बहप्रकोप पूर्वसूचना प्रणालीको प्रभावकारी विस्तार, स्तरोन्नति र सञ्चालन गर्ने लक्ष्य लिएको छ।

बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति एवं कार्ययोजना र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना पनि स्वीकृत गरेको छ।