काठमाडौं। राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि भन्दै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गरेका छन्।
मन्त्री श्रेष्ठले जल तथा ऊर्जा आयोगका सचिव नवीन राज सिंहको संयोजकत्वमा बिहीबार समिति गठन गरेका हुन्। समितिमा ऊर्जा क्षेत्रको संस्थाका प्रतिनिधि र विज्ञहरु सदस्य रहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित नीति बनाउन लागिएको हो। समितिलाई २१ दिनभित्र मस्यौदा तयार गर्न भनिएको छ।
नयाँ नीतिमार्फत ऊर्जा उत्पादन, प्रसारण, वितरण, खपत तथा व्यापारलाई एकीकृत दृष्टिकोणबाट अघि बढाउने मन्त्रीको सचिवालयले जनाएको छ।









