काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल-ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपालमा लगानीका सम्भावना खोज्न बेलायती कम्पनीलाई आग्रह गरे। उनले बेलायतमा रहेका नेपालीलाई पनि मातृभूमिमा लगानी र ज्ञान हस्तान्तरणका गर्न आग्रह गरे।
मन्त्री साहले नेपाल र बेलायतबीच नवीकरणीय ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, हरित प्रविधि, उत्पादन तथा औद्योगिक विकास, दिगो पूर्वाधार र सेवा क्षेत्रका उदीयमान आयाममा सहकार्य गर्ने सम्भावना रहेको लगानीकर्तालाई आवश्यक पर्ने आत्मविश्वास, नीतिगत स्थिरता र पारदर्शीताका लागि सरकारले काम गरिरहेको बताए।
‘व्यावसायिक समुदायले उठाउँदै आएका दोहोरो कर प्रणाली, कर नीतिमा पूर्वानुमानयोग्य, नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्तिको सुरक्षा र निर्यात सहजीकरणका विषय विचारणीय छन्, यसलाई सरकारले स्वीकार गरेको छ,’ उनले भने।
कार्यक्रममा नेपाल-ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका सभापति रोशन राठीले नेपाल र बेलायतबीच ‘दोहोरो कर मुक्ति सम्झौता’ गर्न सके द्विपक्षीय व्यापार र लगानीका लागि आधार तयार हुने बताए।









