काठमाडौं। आन्तरिक राजस्व विभागले काठजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटसम्बन्धी व्यवस्थाबारे स्पष्ट पारेको छ। विभागले काठका सबै वस्तुमा भ्याट छुट नहुने र काठका ब्रिकेटमा मात्रै छुट पाइने जनाएको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै आर्थिक ऐन, २०८३ ले संशोधन गरेको मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची-१ मा रहेको व्यवस्थाबारे स्पष्ट पारेको हो। उक्त अनुसूचीको समूह ११ अन्तर्गत शीर्षक ४४.०१ मा उल्लेखित सबै मालवस्तुमा कर छुट हुने नभई उपशीर्षक ४४०१.३२.०० मा पर्ने काठका ब्रिकेटमा मात्रै छुट हुने विभागले जनाएको छ।
विभागका अनुसार शीर्षक ४४.०१ मा पर्ने सबै वस्तुमा भ्याट छुट हुने वा नहुने विषयमा विभिन्न डिभिजन वन कार्यालय, ब्रिकेट तथा पेलेट उत्पादन गर्ने उद्योग र सरोकारवालाबीच अन्योल देखिएको थियो। यही अन्योल र द्विविधा हटाउन विभागले सार्वजनिक सूचना जारी गरेको हो।
मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची-१ मा शीर्षक ४४.०१ अन्तर्गत काठजन्य विभिन्न वस्तु समेटिएका छन्। यसमा बल्ने दाउरा, मुडा, चिरेको मोटा टुक्रा (बिलेट), हाँगाबिँगा, दाउराको बिटो, काठका चौटाचौटी, मसिना टुक्राटाक्री, काठको धुलो तथा अवशेष लगायत वस्तु पर्छन्।
यसै शीर्षकअन्तर्गत काठका ब्रिकेट र पेलेटसमेत समेटिएका छन्। तर, विभागले कर छुटको व्यवस्था सबै वस्तुमा नभई उपशीर्षक ४४०१.३२.०० मा उल्लेखित काठका ब्रिकेटमा मात्रै लागू हुने स्पष्ट पारेको छ।
विभागले एउटै उपशीर्षकअन्तर्गत एक वा सोभन्दा बढी वस्तु तथा सेवा समेटिए पनि स्पष्ट रूपमा किटान गरिएका वस्तु तथा सेवामा मात्रै कर छुट हुने व्यवस्था रहेको जनाएको छ।









