काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न २९ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी)लाई बक्यौता रकम नतिरे लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ।
प्राधिकरणले बिहीबार सूचना निकालेर सुबिसु, क्लासिक टेक, मर्कन्टाइल लगायत २९ कम्पनीलाई १५ दिनभित्र बक्यौता नतिरे लाइसेन्स खारेजीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको हो।
सुबिसु लगायत ९ कम्पनीलाई रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) रकम र त्यसमा लाग्ने थप दस्तुर १५ दिनभित्र बुझाउन भनेको छ।
क्लासिक टेक, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन लगायत २० कम्पनीले रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) रकम र त्यसमा लाग्ने थप दस्तुर नबुझाएका उनीहरुको लाइसेन्स नवीकरण नै भएको छैन। ती कम्पनीलाई पनि बक्यौता बुझाउन १५ दिनको समय दिइएको छ।
तोकिएको समयभित्र बक्यौता नबुझाए लाइसेन्स खारेजीका साथै बक्यौता प्रचलित कानुन बमोजिम असुल गर्ने प्रक्रिया अगाडि बढाउने प्राधिकरणको चेतावनी छ।
प्राधिकरणले लाइसेन्स नवीकरण नगरेका कम्पनीबाट सेवा खरिद नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
लाइसेन्स नवीकरण नगरेक कम्पनी
एलिशा कम्युनिकेसन लिंक, एरोनेट प्रालि, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन, क्लासिक टेक, कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल, एभरेस्ट वायरलेस नेटवर्क, जीआरएस लिंक इन्टरनेट सर्भिस, आई जोन, कालिका नेट, खप्तड नेट, कनेक्ट नेपाल नेटवर्क, मर्कन्टाइल कम्युनिकेसन, नेक्स्ट गिकर्स, नम्बर नेटवर्क, पोखरा इन्टरनेट, सांग्रिला इन्फर्मेटिक्स, सुपर सीतापाइला केबल नेट, टेकमाइन्ड्स नेटवर्क, अल्ट्रानेट कम्युनिकेसन र वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टमले अनुमतिपत्र नवीकरण नगरेको प्राधिकरणले जनाएको छ।









