खाद्य कम्पनीले धान किन्न ढिलाइ गर्दा किसानले पाएनन् सरकारी मूल्य, २५% कममा बेच्न बाध्य

बिजमाण्डू
२०८३ कात्तिक ३० गते ११:२९ | Nov 16, 2026
खाद्य कम्पनीले धान किन्न ढिलाइ गर्दा किसानले पाएनन् सरकारी मूल्य, २५% कममा बेच्न बाध्य

बर्दिया। सरकारी कम्पनीले धान खरिद सुरु नगर्दा बर्दियाका किसान सस्तो मूल्यमा बेच्न बाध्य भएका छन्।

GBIME
Tata

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदको काम अगाडि नढाएपछि किसान सरकारले तोकेको भन्दा निक्कै कम मूल्यमा व्यापारीलाई बेच्न बाध्य भएका हुन्।

गुलरिया नगरपालिका-१२ भैसाहीका किसान जगमोहन थारूले प्रति क्विन्टल २ हजार ८०० रुपैयाँका दरले ३०० क्विन्टल धान बिक्री गरेका छन्।

‘सरकारी कम्पनीले कहिले किन्छ भन्ने टुंगो भएन। त्यसैले हिउँदेबाली लगाउन खेत जोत्ने खर्च र घरायसी आवश्यकता पूरा गर्न धान सस्तोमा नै बिक्री गरें,’ उनले भने।

जगमोहनले धान बिक्रीबाट पाएको मूल्य सरकारले तोकेकोभन्दा २३.४९ प्रतिशत कम हो। सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ६६० र मध्यम धानको ३ हजार ८६० रुपैयाँ तोकेको छ।

बढैयाताल गाउँपालिका-७ का किसान रामदेव थारूले पनि सरकारले तोकेको भन्दा कम मूल्यमा धान बिक्री गरेका छन्। मल तथा हिउँदेबालीका लागि बीउ खरिद गर्न रकम अभाव भएपछि कम मूल्यमै धान बिक्री गरेको उनको भनाइ छ।

बढैयाताल गाउँपालिका-५ बढैयागाउँका गल्ला व्यापारी सुरेश थारुले मोटा धान प्रति क्विन्टल २ हजार ९०० र मसिनो धान ४ हजारका दरले खरिद गरिरहेको जानकारी दिए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बर्दियामा मंसिर ३ देखि धान खरिद गर्ने बताएको छ। कम्पनीले पोहोर कात्तिक १९ गतेदेखि खरिद गर्न सुरु गरेको थियो। कम्पनीले यस वर्ष बर्दियाका किसानबाट ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ।

बर्दियामा ५० हजार १०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। रासस