काठमाडौं। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन भएको छ। सोमबार बिहान व्रतालुहरूले सूर्यदेवको पूजा आराधना गर्दै दूध, फूल र जल चढाएर पर्वको समापन गरेका हुन्।
बिहानैदेखि बालाजुस्थित २२ धारामा छठ मनाउने भक्तजनको उपस्थिति थियो। व्रतालुहरू कम्मरसम्म पानीमा डुबेर उदाउँदो सूर्यको प्रतीक्षामा बसेका थिए।


धार्मिक विधिअनुसार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा सम्पन्न हुन्छ। यस अवसरमा व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि र मनोकाङ्क्षा पूरा हुने कामना गरेका थिए।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म ४ दिन मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको थियो। पहिलो दिन स्नान गरी चोखो खाना खाएर सुरु गरिएको व्रतमा भक्तजनले शुद्धता र धार्मिक विधिलाई विशेष महत्त्व दिएका थिए।


छठ पर्वमा सूर्यदेवलाई सम्पूर्ण शक्तिको स्रोत र जललाई जीवनको आधार मान्दै पूजा गर्ने धार्मिक विश्वास छ। यस पर्वमा विवाहित महिला तथा पुरुषले पति वा पत्नीको दीर्घायु र अविवाहितले योग्य जीवनसाथी प्राप्तिको कामना गर्ने परम्परा छ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय काठमाडौंसहित देशका विभिन्न पहाडी क्षेत्रमा पनि लोकप्रिय बनेको छ। काठमाडौंमा गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, बल्खु र बालाजु लगायत स्थानमा छठ पूजा आयोजना गरिएको थियो।

छठ पर्वमा सबै धर्म र समुदायका मानिसको सहभागिता बढ्दै गएको छ। देशव्यापी रूपमा विस्तार भएको यस पर्वका अवसरमा सरकारले यस वर्ष कार्तिक शुक्ल सप्तमीमा सार्वजनिक बिदासमेत दिएको थियो।

















