काठमाडौं। संघीय निजामती विधेयक संसद्मा त्यतिकै थन्किने भएको छ। सरकारले चालु अधिवेशनमा पेस नगर्ने भएपछि विधेयक थन्किने भएको हो।
संसद्को चालु अधिवेशन शुक्रबार अन्त्य गरिंदैछ। तर, शुक्रबारको प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा संघीय निजामती विधेयक पेस गर्ने कार्यसूची छैन। यो विधेयक संसद्मा पेस गर्न अर्को अधिवेशन कुर्नुपर्ने भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले विधेयक बिहीबार संसद्मा दर्ता गराएकी थिइन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पेस नहुने भएपछि कर्मचारीमा सरकारले अध्यादेश ल्याउने त्रास देखिएको छ।
‘सरकारले अध्यादेश ल्याएर कर्मचारीलाई हटाउन खोजेको देखिन्छ। नभए प्रतिनिधि सभामा पेस गर्ने कार्यसूचीमा किन परेन?,’ एक सचिवले भने।
संसद्मा पेस नभएको अवस्थामा अध्यादेश ल्याउन चाहे सामान्य प्रशासनमन्त्री रावलले संसद् सचिवालयलाई पत्र लेखेर विधेयक फिर्ता गर्न सक्छिन्।
विधेयकमा कर्मचारीलाई एक पटकका लागि ५५ वर्ष उमेर हद वा ३० वर्ष सेवा अवधिका आधारमा अवकाश दिन प्रस्ताव गरिएको छ। यस्तै सचिवको कार्यकाल ३ वर्ष प्रस्ताव गरिएको छ।
यी प्रस्तावका आधारमा साढे ५ हजारभन्दा धेरै कर्मचारी र अधिकांश सचिवले बिदा पाउनेछन्। गत असार अन्तिममा बढुवा भएका मुख्यसचिव गोविन्दबहादुर कार्कीले घर जानुपर्नेछ।











