बबरमहलमा ७ हजारदेखि ५६ लाख रुपैयाँसम्मका कलाकृति प्रदर्शनीमा, विदेशबाट पनि बुकिङ

आकांक्षा ढकाल
२०८३ असोज १३ गते ०८:४६ | Sep 29, 2026
बबरमहलमा ७ हजारदेखि ५६ लाख रुपैयाँसम्मका कलाकृति प्रदर्शनीमा, विदेशबाट पनि बुकिङ


काठमाडौं । थापाथलीमा पछिल्लो केहीदिनदेखि देवीदेवताहरु हेर्न पुग्नेहरुको घुइँचो लागेको छ। कुनै मन्दिरमा होइन, बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको हलमा प्रदर्शनीमा राखिएका देवीदेवताका तस्विर र मूर्तिहरु हेर्न पुग्नेको संख्या बढिरहेको हो।

Vigo
GBIME
Tata

यसपटक १५७ जना कलाकारका २३८ चित्र र ४८ वटा मूर्तिहरु प्रदर्शनीमा राखिएका छन्। ‘डाइटिज् अफ नेपाल’ नाम दिइएको प्रदर्शनीको यो तेस्रो संस्करण हो।

‘नेपालको संस्कृति प्रस्तुत गर्न चाहन्थ्यौं। अघिल्ला दुईवटा प्रदर्शनी पनि सफल भएका थिए। त्यसैले यही विषयलाई निरन्तरता दिने निर्णय गरेका हौं,” क्युरेटोरियल टिमकी सदस्य रश्मी मानन्धरले भनिन्।

असोज २४ गतेसम्म संचालन हुने प्रदर्शनीमा राखिएका कलाकृतिको मूल्य ७ हजार रुपैयाँदेखि ५६ लाख रुपैयाँसम्म छ। केही कलाकृतिहरुको ‘बुकिङ’ पनि भइसकेको छ।

हाल प्रदर्शनीमा राखिएको सबैभन्दा महँगो कलाकृति दिवंगत कालु कुमालेद्वारा निर्मित ‘मञ्जुश्री’ को मूर्ति हो। यसको मूल्य ५६ लाख रुपैयाँ तोकिएको छ।

कलाकृतिको मूल्य सामान्य मानिसका लागि महँगो लाग्न सक्छ। तर, यो प्रदर्शनीमा राखिएको मूल्य कला पारखी, लगानीकर्ता तथा पुनः बिक्री गर्ने उद्देश्यले कला खरिद गर्नेहरुका लागि हो।

एक सातामा करिब एक हजार मानिसले प्रदर्शनी अवलोकन गर्ने गरेको आयोजक बताउँछन्।

प्रदर्शनीमा औसत ३ देखि ४ लाख रुपैयाँ मूल्य पर्ने चित्र तथा मूर्तिहरु भने कला संकलकहरूले खरिद गर्ने गरेको आयोजकले जानकारी दिए। विदेशीहरुले समेत यस्ता कलाकृति खरिद गर्ने गरेका छन्। महंगा कलाकृति बिक्री हुन भने समय लाग्ने गरेको आयोजकको बुझाइ छ।

प्रदर्शनीमा विदेशीहरुले अनलाइन क्याटलगमार्फत पनि आफूलाई मन परेको कलाकृति छनोट गर्ने गरेको बताइएको छ।

‘यस प्रदर्शनीको मुख्य उद्देश्य कलाकारहरूले आफ्ना कलाकृति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्न सक्ने एउटा मञ्च उपलब्ध गराउनु हो,’ रश्मी मानन्धरले भनिन्।

प्रदर्शनीमा सहभागिताका लागि तय मितिभन्दा ५ देखि ६ महिना अगाडि नै खुल्ला आह्वान गरिएको थियो। यो समयमा कलाकारहरुलाई आफ्नो कलाकृति तयार गर्न पर्याप्त समय पुग्छ। त्यसपछि आवेदन दिएकाहरु मध्यबाट निर्णायक समितिले कलाकार छनोट गर्ने गरेका छन्।

कलाकारहरुले आफ्ना कलाकृतिको मूल्य आफैं निर्धारण गर्छन्। प्रदर्शनीमा कलाकृति राखेबापत कलाकारबाट कुनै शुल्क लिइँदैन। तर, प्रदर्शनीका क्रममा कुनै कलाकृति बिक्री भएमा काउन्सिलले त्यसको २० प्रतिशत कमिसन लिने गरेको छ।

यसप्रकारका प्रदर्शनीले नेपालमा कला क्षेत्र विस्तार हुँदै गएको आभाष हुने र नेपाली कला र संस्कृतिप्रति पर्यटक तथा विदेशी कला संकलकको आकर्षण पनि बढिरहेको संकेत देखिएको मानन्धर बताउँछिन्।