काठमाडौं। भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा हाल २० हजार जनाभन्दा बढी सुरक्षाकर्मी परिचालित छन्। उनीसँगै सुरक्षा निकायका तालिमप्राप्त कुकुरहरू पनि परिचालित छन्।
प्रहरीले विशेष तालिमप्राप्त केनाइनको प्रयोग गर्दै आइरहेको छ। जसले बाढी, पहिरो र भग्नावशेषमा फसेका मानिसहरू खोज्न महत्त्वपूर्ण सहयोग पुर्याएका छन्। रसुवा र नुवाकोटमा बाढीले बस्ती नै बगाएको छ। धेरै घर भग्नावशेषमा परिणत भएका छन्।
शव गाडिएको, छोपिएको अवस्थामा प्रहरीको कुकुरले खोजी गरिरहेका छन्। बाढीका कारण प्रभावित क्षेत्रहरू विशेषगरी रसुवा, नुवाकोट र चितवनमा नेपाल प्रहरीले केनाइनको सहयोगमा उद्धार तथा खोज कार्य गरिरहेको छ।
नेपाल प्रहरीले रसुवामा जर्मन शेफर्ड (जम्बो) र बेल्जियन शेफर्ड (रक्की), नुवाकोटमा २ वटा ल्याब्राडोर (लियो र कालु) तथा चितवनमा जर्मन शेफर्ड (दिप्सी) प्रयोग गरी खोजी कार्य भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले बताए।

‘केनाइनको प्रयोगबाट भग्नावशेष, माटोमा पुरिएका मानिसको गन्ध पत्ता लगाउन सजिलो हुने एवम् ठुलो क्षेत्रमा पनि छिटै स्क्यान गर्न सकिने हुँदा खोजी तथा उद्धार कार्यलाई थप छिटो एवम् प्रभावकारी बनाउन सकिन्छ,’ डीआइजी काफ्लेले भने।
सशस्त्र प्रहरी र नेपाली सेनाले पनि खोजीमा कुकुरको मद्दत लिइरहेका छन्। संख्याका हिसाबले नेपाल प्रहरीसँग तालिमप्राप्त कुकुर धेरै छन्। बाढओ प्रभावित क्षेत्रमा बेपत्ताको खोजी गर्न कुकुरले सघाएका छन्।
उद्धारकर्मी वा उपकरण पुग्न कठिन भएको भूभागमा कुकुरको प्रयोग प्रभावकारी हुन्छ। त्यसैले कठिन भूभागमा फसेका वा भग्नावशेषमा पुरिएका व्यक्तिहरू खोज्न धेरै सहयोग पुग्ने हुँदा नेपाल प्रहरीले केनाइनको सहयोगमा खोजी कार्यलाई तीव्र बनाइरहेको छ।
नेपाल प्रहरी केनाइन कार्यालयबाट कनाइनसहित खटिएको टोलीले रसुवाको टिमुरे घट्टेखोला लगायतको खोजी तथा उद्धार कार्य गरेको थियो। टोलीले टिमुरेबाट २ वटा शव र एउटा शरीरको अंग फेला पारेको थियो। यसैगरी नुवाकोटको विदुर, अर्चले शान्ति बजार, मैलुङ हाइड्रोपावर, मैलुङ हाइड्रोपावर थ्री ‘ए,’ मैलुङ हाइड्रोपावर थ्री ‘बी,’ ढुंगे, देवीघाट, वेत्रावती, भैंसे, बट्टार लगायतका स्थानमा केनाइनसहित खटिएको टोलीले खोजी कार्य गरेको थियो।
मैलुङ हाइड्रोपावर थ्री ‘बी’को कर्मचारी आवासमा सानो शरीरको अंग, बट्टार सोलार हाउसमा हत्केलाको भाग फेला परेको थियो। यसैगरी प्रदेश प्रहरी कार्यालय बागमती केनाइन शाखाबाट खटिएको टोली नारायणी पुल आसपास, देवघाट क्षेत्र, दमौली गोलघाट क्षेत्र लगायतका इलाकामा परिचालित भएको थियो। उक्त टोलीले दमौली गोलघाट क्षेत्रबाट २ वटा शव फेला पारेको थियो।
भौगोलिक जटिलता एवम् वातावरणले केनाइनको प्रयोगमा चुनौती देखा पर्न सक्छ। धेरै गहिरो वा बाक्लो माटोमा गन्ध पत्ता लगाउन कठिन हुने तथा पर्याप्त तालिम प्राप्त कुकुर र प्रशिक्षकको सङ्ख्याको सीमितताले पनि खोजी कार्यमा चुनौती थपेको छ।

हावा, पानी, तापक्रम र वातावरणीय प्रदूषणले कुकुरमा गन्ध पत्ता लगाउने क्षमतामा असर पार्न सक्छ। विषम परिस्थितमा बेपत्ता नागरिकको खोजी तथा उद्धारको लागि निरन्तर खटिरहेको रसुवामा खटिएका केनाइनका ह्यान्डलरले बताए।

नेपाल प्रहरी केनाइन कार्यालयले प्रहरी नायब उपरीक्षक कृष्ण बस्नेत भन्छन्, ‘प्रभावित क्षेत्र धेरै ठुलो भयो भने खोजी कार्यमा समस्या हुन्छ। विशेषतः केनाइनको प्रयोग गरी खोजी गर्दा ३० मिनेटपछि १५ देखि २० मिनेटसम्म केनाइनलाई विश्राम दिने गरिन्छ। दलदले हिलो र रातको समयमा अपर्याप्त उज्यालोका कारण खोजी कार्यमा असर पर्छ।’
अपराध अनुसन्धानको साथै बाढी पहिरो जस्ता प्राकृतिक विपद्मा तालिम प्राप्त कुकुरहरूले हराइरहेका व्यक्तिहरूको खोजीमा उल्लेखनीय सहयोग गरेका छन्।











