कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल



सरला सुवेदी
२०८३ भदौ १७ गते १८:१३ | Sep 2, 2026
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल


काठमाडौं। रसुवागढी नाका बाढीले ध्वस्त हुनुका साथै तातोपानी नाका चीनले बन्द गरेपछि कोरला भन्सार कार्यालयले थप जनशक्ति मागेको छ।

Vigo
GBIME
Tata

आयातमा चाप पर्ने भएका कारण अब जनशक्ति र पूर्वाधार बढाउने तयारी भइरहेको कोरला नाकाका प्रमुख भन्सार अधिकृत विदुर चुडालले जानकारी दिए।

‘दुई मुख्य नाका सञ्चालनमा नरहेका कारण अब कोरला नाकाबाट आयात बढ्छ। तर जनशक्ति कम छ। त्यही कारण हामीले विभाग र मन्त्रालयलाई भनेर दरबन्दी बढाउन भनेका छौं,’ उनले भने, ‘प्रविधि र पूर्वाधार पनि थप गर्ने कुरा भएको छ।’

कोरला भन्सारमा हाल १८ कर्मचारीको दरबन्दी रहेकामा ११ जना मात्र कार्यरत छन्। कोरला भन्सार कार्यालयले अब अधिकृतको ४ वटा र नायब सुब्बाको ६ वटा दरबन्दी थप्न माग गरेको छ।

चीनसँगको व्यापारका लागि अहिले कोरला नाकाको विकल्प छैन।

चुडालका अनुसार कोरला नाकामा क्वारेन्टाइन र अध्यागमन कार्यालय राख्न पनि कुरा भइरहेको छ। ‘केरुङमा रोकिएका सामान कोरलामा आइपुग्न अझै ३ दिन लाग्छ। सम्भव भएसम्म कोरलामै क्वारेन्टाइनको व्यवस्था होस् भनेर लागिपरेका छौं,’ उनले भने, ‘यदि भएन भने व्यवसायीले स्याउ लगायत वस्तु चोभारस्थित सुक्खा बन्दरगाहमा लगेर जाँच पास गराउनुपर्ने हुन्छ।’

कोरला नाकाबाट अहिलेसम्म फलफूल, तरकारी र ड्राइफ्रुट्सको आयात भएको छैन। कोरला भन्सारमा कन्टेनर राख्नका लागि ठाँउको समस्या छैन।

चुडालका अनुसार रसुवागढी नाका बन्द हुँदाको प्रभाव कोरलामा परिसकेको छैन। रसुवागढीबाट ल्याउनमा लागि सामान लोड गरिएका १७५ कन्टेनर अब कोरला नाकातर्फ डाइभर्ट हुनेछन्। रसुवागढीमा चीनलाई जोड्ने पुल पोहोर असारको बाढीले बगाएपछि कोरला नाका २०८२ भदौ २३ गतेबाट सञ्चालनमा आएको थियो।

चालु आर्थिक वर्ष साउनमा कोरलाबाट ५८ करोड ८७ लाख रुपैयाँको सामान आयात भएको छ। गत आर्थिक वर्ष १४ अर्ब ४०  करोड रुपैयाँको सामान भित्रिएको तथ्यांक छ। हाल दैनिक १० देखि १५ कन्टेनर सामान आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ।