काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगपति शेखर गोल्छाले वाढी प्रभावितहरुको साथमा आफू रहेको भन्दै राहतका लागि आर्थिक सहयोग घोषणा गरेका छन्।
उनले बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा मानवीय सहायता कार्यमा सहयोग पुर्याउन गोल्छा समूहका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन्।
‘रसुवा तथा अन्य प्रभावित क्षेत्रहरूबाट आइरहेका तस्बिर र भिडियोहरूले हामी सबैलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको छ। यस विपत्तिमा आफ्ना प्रियजन गुमाउनुभएका परिवारहरूप्रति हामी हार्दिक समवेदना व्यक्त गर्दछौं। साथै, अझै पनि आफ्ना प्रियजनको खबरको प्रतीक्षामा रहनुभएका सबै परिवारहरूको पीडा र चिन्तामा हामी साथमा छौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
गोल्छाले कठिन घडीमा हाम्रो पहिलो र साझा प्राथमिकता उद्धार, राहत तथा यस विपत्तिबाट प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्याउनु रहेको उल्लेख गरेका छन्।
‘यस्तो विपत्तिको समयमा निजी क्षेत्र पनि एकजुट भएर सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा सक्दो योगदान दिनु हाम्रो साझा जिम्मेवारी हो,’ उनले लेखेका छन्।











