काठमाडौं । आफ्नो जन्मभूमि छोडेर वैदेशिक रोजगार, व्यापार वा जीवनशैलीका लागि अन्य देशमा बस्ने व्यक्तिहरु (एक्सप्याट्स) का लागि कुन देश ठिक होला?
एक्सप्याट्सहरुका लागि सन् २०२६ मा पनि पानामा विश्वकै उत्कृष्ट गन्तव्य बनेको छ।
‘इन्टरनेसनल्स एक्सप्याट इन्साइडर २०२६‘ ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार पानामाले लगातार तेस्रो वर्ष यो शीर्ष स्थान हासिल गरेको हो।
विश्वका ३१ भन्दा बढी देशमा बसोबास गरिरहेका हजारौं विदेशी नागरिकहरु यस अध्ययनमा सहभागी भएका थिए। उनीहरुको जीवनयापनको लागत, वित्तीय अनुकूलता, काम र जीवनको सन्तुलन, सामाजिक घुलमिल तथा भिसा प्रक्रिया जस्ता सूचकहरुलाई आधार बनाएर प्रतिवेदन तयार गरिएको संस्थाले जनाएको छ।
वर्क लाइफ ब्यालेन्स, वयक्तिगत आर्थिक सफलता, भिसा र बसोबास प्रक्रियाको सहजताका कारण पानामा पहिलो नम्बरमा परेको हो। यहाँका ८७ प्रतिशत विदेशीहरु आफ्नो जीवनशैलीबाट सन्तुष्ट रहेको प्रतिवेदनमा उल्लेख छ। स्थानीय नागरिकको मित्रवत व्यवहारले गर्दा पनि यहाँ विदेशीहरु सजिलै घुलमिल हुन सक्ने जनाइएको छ।
यो सूचीको दोस्रो नम्बरमा मेक्सिको परेको छ। यहाँ पनि विदेशी नागरिकलाई घुलमिल हुन सहज वातावरण रहेको बताइन्छ। स्थानीय संस्कृति, आतिथ्य, साथी बनाउन सहज हुने वातावरण र तुलनात्मक रुपमा सस्तो रहनसहनका कारण मेक्सिको दोस्रो स्थानमा परेको प्रतिवेदनमा उल्लेख छ।
तेस्रो नम्बरमा भने थाइल्यान्ड छ। किफायती जीवनयापन, उत्कृष्ट स्वास्थ्य सेवा र उच्च स्तरको व्यक्तिगत खुसीका कारण थाइल्यान्ड तेस्रो स्थानमा परेको हो। यहाँका ८६ प्रतिशत विदेशीहरु आफ्नो बसाइप्रति पूर्ण सन्तुष्ट रहेको बताएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, चौथो नम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) परेको छ। राम्रो करियरको अवसर, आधुनिक पूर्वाधार, उच्च सुरक्षा र कर छुट र अनुकूल वित्तीय वातावरणका कारण युएई विदेशी नागरिकको चोजाइमा देखिएको हो।
यो सूचीको पाँचौँ नम्बरमा ब्राजिल परेको छ। त्यहाँको जीवन्त संस्कृति, प्राकृतिक सुन्दरता र स्थानीय मानिसहरुको न्यानो स्वागतका कारण ब्राजिल शीर्ष पाँचभित्र पर्न सफल भएको उल्लेख छ।
यसबाहेक स्पेन, सिंगापुर, पोर्चुगल, मलेसिया र लक्जमबर्ग क्रमशः छैटौँदेखि दशौँ स्थानसम्म पर्न सफल भएका छन्।
अध्ययन अनुसार उच्च जीवनयापन खर्च, कर्मचारीतन्त्रको झन्झट, स्थानीय भाषा वा समाजमा घुलमिल हुन कठिन हुने देशहरु भने यो सूचीको पुछारमा छन्। जर्मनी, टुर्कीए र नर्वे जस्ता देशहरु विदेशीहरुका लागि तुलनात्मक रुपमा कम सहज देखिएको प्रतिवेदनमा उल्लेख छ।










