रास्वपाले सुरु गर्‍यो स्थानीय तह निर्वाचनको तयारी,  उम्मेदवार छान्न क्यान्डिडेट क्लब



बिजमाण्डू
२०८३ साउन १३ गते २१:५६ | Jul 29, 2026
रास्वपाले सुरु गर्‍यो स्थानीय तह निर्वाचनको तयारी,  उम्मेदवार छान्न क्यान्डिडेट क्लब
फाइल फोटो


काठमाडौं। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वर्ष वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी थालेको छ। तयारीस्वरुप रास्वपाले उम्मेदवार छनोटका लागि भदौ १ गतेदेखि क्यान्डिडेट क्लबमा आवेदन खुला गर्ने निर्ण गरेको छ।

Tata
GBIME

महाधिवेशनपछि बुधबार बसेको केन्द्रीय समिति बैठकले आवेदन खुलाको निर्णय गरेको हो। योग्य उम्मेदवार छनोटको पहिलो बिन्दुका रूपमा भदौ १ गतेदेखि क्यान्डिडेट क्लबका लागि आवेदन खुल्ला गर्ने निर्णय बैठकले गरेको महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्रीसँग छलफल गर्ने

यस्तै बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन र पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन मन्त्रीसँग सम्वाद गर्ने निर्णय बैठकले गरेको छ।

प्रत्येक महिनाको  कम्तीमा एक दिन मन्त्रीहरूसँग पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा समसामयिक र बहुआयामिक विषयमा अनिवार्य छलफल गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

सचिवालय गठन

बैठकले पार्टी विधानको धारा २३ अनुसार बैठकले सचिवालय गठन गरेको छ। सचिवालयमा पार्टी सभापतिसहित निर्वाचित पदाधिकारीहरु सदस्य छन्। उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम तथा महामन्त्री विपिनकुमार आचार्य तथा सह-महामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी सचिवालय सदस्य रहेका छन्।

पार्टी वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका वालेन्द्र शाहलाई मनोनीत गर्ने निर्णय बैठकले गरेको छ। विधानको धारा २२(११) को खण्ड (ञ) बमोजिम शाह वरिष्ठ नेता मनोनीत भएका हुन्।

बैठकले केन्द्रीय सदस्यहरुबाट प्राप्त सुझाव समेतका आधारमा परिमार्जन गर्नेगरी साङ्गठनिक दस्तावेज पारित गरेको छ। साउन १८ गतेसम्म सदस्यहरूबाट प्राप्त हुने संशोधन सुझाव कार्यविधिमा समेट्ने निर्णय पनि बैठकले गरेको छ।

बैठक सञ्चालन कार्यविधि, सदस्यता सम्बन्धी कार्यविधि,  सदस्यता अद्यावधिक तथा जिम्मेवारी बाँडफाँट र विभाग सम्बन्धी कार्यविधि बैठकले पारित गरेको हो।

यस्तै, विभागीय नेतृत्व छनोटमा कार्ययोजना मागको निर्णय पनि बैठकले गरेको छ। नेतृत्वका लागि इच्छुक केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यले नेतृत्व गर्न चाहेको विभागको स्पष्ट लक्ष्य र रूपरेखासहितको ६ महिने कार्ययोजना पेस गर्नुपर्ने छ।

नागरिकका समस्या र गुनासोलाई प्रत्यक्ष रूपमा सुन्न र समाधानको सहजीकरणका लागि पार्टी कार्यालयहरूमा अनिवार्य उपस्थिति रहने संयन्त्र निर्माणको निर्देशन बैठकले गरेको छ।

पहिलो चरणमा नागरिकको सेवाका लागि केन्द्रीय कार्यालयमा हरेक दिन दुईजना केन्द्रीय सदस्य, प्रदेश कार्यालयमा दुईजना प्रदेश सदस्य र जिल्ला कार्यालयमा एकजना जिल्ला समिति सदस्यको अनिवार्य उपस्थिति गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले आत्महत्या र आत्मदाहजस्ता घटना, समाचार वा जानकारी सामाजिक सञ्जालहरूमा सेयर वा सम्प्रेषण नगर्न सदस्यहरुलाई निर्देशन जारी गरेको छ।