सुनसरी घटनामा सर्वदलीय बैठकपछि सात बुँदे अपिल जारी, संवादबाट समाधान खोज्न आग्रह



बिजमाण्डू
२०८३ साउन १३ गते १२:१९ | Jul 29, 2026
सुनसरी घटनामा सर्वदलीय बैठकपछि सात बुँदे अपिल जारी, संवादबाट समाधान खोज्न आग्रह


काठमाडौं। सुनसरी घटनालाई लिएर सर्वदलीय बैठकपछि सात बुँदे अपिल जारी गरिएको छ।

Tata
GBIME

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति माननीय रवि लामिछानेको आह्वानमा बुधबार बिहान बसेको सर्वदलीय बैठकले सुनसरी घटनाले विभिन्न जिल्लामा देखिएको असहज परिस्थितिको समीक्षा गर्दै सात बुँदे अपिल जारी गरेको हो।

दलहरुले सामाजिक सद्‍भाव र शान्तिका लागि अपिल गरेका छन्।

‘नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व हो। सदियौंदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्‍भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौं। आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ,’ अपिलमा भनिएको छ।

दलहरुले शान्तिपूर्ण संवाद र सहमतिका लागि सम्बन्धित सबैसँग आग्रह गरेका छन्। लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याको समाधान पनि शान्तिपूर्ण संवादका माध्यमबाट मात्र सम्भव हुने भन्दै आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई दलहरुले आह्वान गरेका हुन्।

दलहरुले तल्लो तहमा सर्वदलीय संयन्त्र र बैठक गर्न पनि आग्रह गरेका छन्।

‘समाजमा शान्ति र सद्‍भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन। तसर्थ, प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्‍याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न हामी आ-आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गर्दछौं,’ बैठकपछि जारी गरिएको अपिलमा भनिएको छ, ‘स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुनु आजको आवश्यकता हो।’

दलहरुले देशका अन्य भू-भागमा घटना दोहोरिन नदिनका लागि केन्द्रीय तहबाट समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।उनीहरुले अफवाह नियन्त्रण र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न आग्रह गरेका छन्।

दलहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुन बमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

उनीहरुले राष्ट्रिय एकता र सामाजिक सद्‍भावको रक्षाका लागि आफूहरु एकताबद्ध रहेको र समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्।