काठमाडौं। तेस्रो पक्ष बीमाको दायित्व दोब्बर गर्ने घोषणा कार्यान्वयनका लागि नेपाल बीमा प्राधिकरण कानुनी व्यवस्थाको पर्खाइमा बसेको छ।
सरकारले बजेटमार्फत तेस्रो पक्ष बीमाको दायित्व दोब्बर गर्ने घोषणा गरेकामा कार्यान्वयनका लागि कानुनी व्यवस्था भने गरेको छैन। सवारी तथा यातायात व्यवस्था नियमावलीमा संशोधन नगरिएकाले बजेटको घोषणा कहिलेबाट कार्यान्वयन आउँछ भन्ने टुंगो छैन।
‘हामीसँग अहिले मोटरबीमा निर्देशिका पुरानै छ। यसलाई संशोधन गरेर दर निर्धारणका विषयमा छलफल गरिसकेका छौं। तर, सरकारले नियमावलीमा संशोधन नगरेकाले हामीले बजेटको घोषणा कार्यान्वयन गर्न सक्ने अवस्था छैन,’ प्राधिकरणका एक अधिकृतले भने।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लले गत जेठ १५ गते बजेटमार्फत तेस्रो पक्ष बीमांक ५ लाखबाट १० लाख रुपैयाँ पुर्याउने घोषणा गरेका थिए।
नियमावलीले यातायातमा काम गर्ने कर्मचारी, सवारी, सवारी धनी र तेस्रो पक्षको बीमा गर्नुपर्ने व्यवस्था गरेको छ। नियमावलीले तेस्रो पक्ष बीमाको दायित्व समेत तोकेको छ। यसको कार्यान्वयन भने मोटर बीमा निर्देशिकामार्फत हुँदै आएको छ।









