देउवा पाँच महिनापछि स्वदेश फर्किंदै, पक्राउ पर्ने भयसहित भने- सरकार प्रतिशोधात्मक बन्नसक्छ



बिजमाण्डू
२०८३ साउन ५ गते १९:१३ | Jul 21, 2026
देउवा पाँच महिनापछि स्वदेश फर्किंदै, पक्राउ पर्ने भयसहित भने- सरकार प्रतिशोधात्मक बन्नसक्छ
देउवा दम्पती। फाइल तस्वीर


काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्किन लागेका छन्।

Tata
GBIME

देउवाले मंगलबार प्रेस विज्ञप्ति निकालेर स्वदेश फर्किन लागेको जानकारी दिंदै सरकारले पक्राउ गर्न सक्ने भय प्रकट गरेका छन्।

‘केही महिनादेखि स्वास्थ्य उपचारका सिलसिलामा परिवारसहित विदेशमा रहे पनि मेरो मन, सोच र चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित छ। नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई मैले गम्भीर चासो र जिम्मेवारीका साथ निरन्तर नियालिरहेको छु। म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु। सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु,’ देउवाले विज्ञप्तिमा भनेका छन्।

देउवा प्रतिनिधि सभाको निर्वाचनको एक साताअघि फागुनको मध्यमा उपचारका लागि भन्दै सिंगापुर गएका थिए। उनकी पत्नी डा. आरजु राणा पनि भारत हुँदै सिंगापुर पुगेकी थिइन्। देउवा दम्पती लामो समयदेखि हङकङमा बस्दै आएका छन्।

देउवा र आरजु प्रहरीको खोजी सूचीमा छन्। उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले गत जेठ २४ गते अदालतले पक्राउ पूर्जी जारी गरेको थियो।

देउवाले विज्ञप्तिमा राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग र राजनीतिक पूर्वाग्रहका आधारमा दमन तथा प्रतिपक्षलाई दबाउने प्रवृत्ति देखिएको भन्दै कांग्रेसले यसको विरोध गर्नुपर्ने उल्लेख गरेका छन्।

‘राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन, साथै भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन,’ देउवाले भनेका छन्, ‘यस्तो संस्कृतिको विरोध गर्नु र त्यसलाई पराजित गर्नु नै नेपाली कांग्रेसको ऐतिहासिक दायित्व र अस्तित्वको आधार हो।’