काठमाडौं। वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित भएको छ। काभ्रे, सिन्धुली, मकवानपुर, इलाम, अर्घाखाँची, सिन्धुपाल्चोक र बागलुङका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड संचालनमा वर्षा, बाढी र पहिरोका कारण अवरोध पुगेको हो।
वर्षायामको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने विपि राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन संचालनमा रोक लगाइएको छ।
अर्को सूचना नभएसम्म रातिको समयमा सवारी संचालन बन्द रहनेछ भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी संचालन गर्न अनुमति दिइने व्यवस्था गरिएको छ।
यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि लगातारको वर्षाका कारण जोखिम बढेपछि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन संचालनमा रोक लगाइएको छ। यो व्यवस्था पनि अर्को सूचना जारी नभएसम्म लागू रहने जनाइएको छ।
उता इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण हिलो भएर सवारी संचालन गर्न नसकिने अवस्थामा पुगेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। यद्यपि, सो क्षेत्रमा वैकल्पिक सडकमार्ग उपलब्ध रहेको प्रहरीले जनाएको छ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ ढुङ्ग्रेखोलास्थित सालझण्डी-ढोरपाटन सडकखण्डमा माथिबाट ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलोस्थित अरनिको राजमार्गमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो पन्छाउने कार्य जारी रहेको जनाइएको छ।
त्यसैगरी बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालीगण्डकी करिडोर सडकखण्डमा ढुङ्गा र माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।
प्रहरीले वर्षायाममा अत्यावश्यक बाहेकको यात्रा नगर्न, यात्रा गर्नै परे सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।








