काठमाडौं। विश्व हिन्दु आर्थिक मञ्च (डब्लूएचईएफ)ले सन् २०२७ मा नेपालमा सम्मेलन गर्ने भएको छ। डब्लूएचईएफले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)सँगको सहकार्यमा सम्मेलन गर्ने भएको हो।
यस सम्बन्धमा डब्लूएचईएफ र एफएनसीसीआईबीच समझदारी भएको छ। समझदारीपत्रमा बिहीबार एफएनसीसीआईका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व हिन्दु इकोनोमिक फोरम आयोजक समितिका अध्यक्ष सुरज वैद्यले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार नेपाललाई विश्वस्तरीय लगानी, नवप्रवर्तन तथा उद्यमशीलताको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने, सातै प्रदेशका लगानीयोग्य सार्वजनिक-निजी परियोजनाको पहिचान तथा प्रवर्धन गर्ने, वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्ने तथा आर्थिक कूटनीतिलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ।
एफएनसीसीआईका अध्यक्ष श्रेष्ठले यो सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय लगानी, व्यापार तथा व्यावसायिक साझेदारीको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
‘नेपालसँग प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा तथा रणनीतिक भौगोलिक अवस्थिति जस्ता विशिष्ट सम्भावना छन्। ती सम्भावनालाई उत्पादन, लगानी र रोजगारीमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ। यस समझदारीले नेपालका ती सभावनाहरुबाट लाभ लिन सहयोग पुग्ने विश्वास छ,’ श्रेष्ठले भने।
विश्व हिन्दु इकोनोमिक फोरम नेपाल आयोजक समितिका अध्यक्ष एवं एफएनसीसीआईका पूर्वअध्यक्ष सुरज वैद्यले सम्मेलनले वैदेशिक लगानी आकर्षित गर्न, युवा उद्यमशीलताको प्रवर्धन गर्न र नेपालको आर्थिक विकासलाई नयाँ गति दिन सहयोग पुग्ने बताए।











