काठमाडौं। कुमारी बैंकले बाजुराको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ।
शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले विद्यालयहरूलाई स्मार्ट टेलिभिजन उपलब्ध गराइएको बैंकले जनाएको छ।
बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा संचालित उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवर्धन गर्ने, विद्यार्थीहरूको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।
भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोतसाधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयहरूमा यस सहयोगले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
कुमारी बैंकले ग्रामीण तथा सहरी क्षेत्रबीच रहेको शैक्षिक अवसर र स्रोतसाधनको असमानतालाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू संचालन गर्दै आएको जनाएको छ। बैंकले उपलब्ध गराएको स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीहरूलाई डिजिटल सामग्री, श्रव्यदृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्न सहयोग पुग्ने विश्वास लिएको छ।
बैंकका अनुसार दुर्गम क्षेत्रका विद्यार्थीहरूले पनि सहरी क्षेत्रका विद्यार्थीसरह प्रविधिमैत्री सिकाइको अवसर प्राप्त गरी गुणस्तरीय शिक्षामा समान पहुँच हासिल गर्न यसले सहयोग गर्नेछ।











