नक्कली लक्जरी सामानको ‘ग्लोबल हब’ , अमेरिकी चेतावनीपछि भियतनामी बजार बन्द होला?



बिजमाण्डू
२०८३ असार २३ गते १०:५५ | Jul 7, 2026
नक्कली लक्जरी सामानको ‘ग्लोबल हब’ , अमेरिकी चेतावनीपछि भियतनामी बजार बन्द होला?
एआईद्वारा निर्मित तस्विर।


भियतनामको हो ची मिन्ह सिटीको एउटा सामान्य गोदाममा प्रहरीले जब छापा मर्‍यो त्यहाँको दृश्य लोभलाग्दो थियो। नाइकी, एडिडास, क्रोक्स र गुच्ची जस्ता विश्वविख्यात ब्रान्डका लोगो लागेका हजारौं चप्पल थिए।

Tata
GBIME
Nepal Life

२३ हजार भन्दा बढी चप्पलहरुमा वास्तविक ब्रान्डको लोगो मात्रै थियो। तर ती चप्पलहरु सबै नक्कली (काउन्टरफिट) थिए। करिब ७६ हजार अमेरिकी डलर बराबरको सामान प्रहरीले फेला पारेको थियो।

भियतनाममा दशकौंदेखि फस्टाइरहेको ‘ब्ल्याक मार्केट’ विरुद्ध यो त्यहाँको सरकारले चालेको कडा कदम थियो।

प्रहरीले छापा मारेको गोदामभन्दा मात्र ३० किलोमिटर टाढा रहेको भियतनामी बजारमा विदेशमा ९०० डलरसम्म पर्ने लक्जरी सामानहरु मात्र ३० डलरमा सजिलै बिकिरहेका हुन्छन्।

च्यानलका ह्यान्डब्याग, प्राडाका टीशर्ट र रोलेक्सका घडीहरुले यहाँका पसलहरुमा सजिलै पाइन्छ। सस्तो र नक्कली सामानको विश्वव्यापी हब मानिने भियतनाम अहिले आफ्नो त्यो नकारात्मक पहिचान बदल्न संघर्ष गरिरहेको छ।

भियतनाम सरकारले ‘कपिराइट’ उल्लंघन गर्नेहरुविरुद्ध राष्ट्रव्यापी अभियान नै चलाएको छ। पहिला पनि यसप्रकारका अभियान चल्ने गरेको यसपटक भने अलि कडा नीति अपनाइएको छ। यसको मुख्य कारण विशेष गरी अमेरिकाको व्यापार युद्ध भएको बीबीसीले जनाएको छ।

अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयले भियतनामलाई कपिराइट संरक्षणमा असफल भएको भन्दै ‘प्राथमिकता सूची’ मा राखेको छ। अमेरिकाले भियतनामलाई यस क्षेत्रमा विश्वकै खराब मध्येको एक देशको रुपमा चित्रित गरेको छ।  नयाँ भन्सार शुल्क को डरले भियतनामी अधिकारीहरुले आफ्नो कारबाही गत वर्षको तुलनामा तीव्र पारेका छन्।

सगुन स्क्वायर बजारमा व्यवसाय गर्दै आइरहेकाहरुका अनुसार पहिला बजार निरीक्षणमा आउनेहरु क्यामेरा टोलीसहित आउँथे र केही सामान जफत गरेर जान्थे। पछि अवस्था सामान्य हुन्थ्यो। तर, यसपटक भने निगरानी बढेको बताइन्छ।

यद्यपि, पछिल्लो छापाबाट पनि स्थानीय व्यापारीहरु खासै डराएका भने छैनन्। प्रहरी आउनुअघि बजारमा कसैले सिट्ठी बजाएर चेतावनी दिने गरेका छन्। त्यसपछि व्यापारीहरु ब्रान्डका सामानहरु लुकाउँछन् र पछाडिको कोठाबाट व्यापार जारी राख्छन्।

भियतनामको यो नक्कली सामानको संजाल सिधै चीनसँग जोडिएको बीबीसीले उल्लेख गरेको छ। चीनबाट कच्चा पदार्थ वा तयारी सामान भियतनाम भित्रिने गरेको छ।

भियतनाम यो बजारलाई लिएर दुई धार रहेको छ। नक्कली बजारले भियतनामको खुद्रा व्यापारलाई ठट्टा बनाएको भन्नेहरु पनि छन्। नक्कली कपडाका लागि ७५ डलर तिर्न तयार हुनेहरु राम्रो कपडा र उत्कृष्ट सिलाई भएको मौलिक पहिरना भने आधा मूल्यमा माग्ने गरेको व्यवसायी बताउँछन्।

अर्कोतर्फ उपभोक्ताहरु भने नक्कली सामानकै पक्षमा देखिएको बताइन्छ। सस्तो र पाउन सजिलो हुँदा धेरैको रोजाई त्यही बजार हुने गरेको छ।

भियतनामको ६० प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा बस्छ। त्यहाँको औसत मासिक आम्दानी मात्र २२५ डलर छ। यस्तो अवस्थामा महँगो ब्रान्ड किन्नु आर्थिक अवस्थाभन्दा बाहिरको कुरा रहेको स्थानीय बताउँछन्।

विज्ञहरुका अनुसार भियतनामको नक्कली बजार पूर्ण रुपमा समाप्त हुने सम्भावना निकै कम छ। व्यापारीहरुले कानुनबाट बच्न नयाँ उपायहरु निकालेको बताइन्छ।

उनीहरुले ब्रान्डको नाम र डिजाइनमा हल्का परिवर्तन गरेका छन्। कपडा र जुत्ताको डिजाइन उस्तै राखेर कानुनी नाममा हल्का परिवर्तन गर्ने ट्रेन्ड नै बढेको बताइन्छ।

बीबीसीमा प्रकाशित समाचारको भावनुवाद।