कीर्तिपुर (काठमाडौं)। ‘जनसङ्ख्या पुग नपुग तीन करोड। गनेरै नसकिने सांस्कृतिक र प्राकृतिक सम्पदा। खान नपाएर वा बास नभएर तड्पिनुपर्ने हो र यो देश? जब कि प्रत्येक नेपालीले अन्तर्राष्ट्रिय मुद्रा कमाउन सक्ने अवस्था यहीँ छ।’
कीर्तिपुरस्थित मौलिक नेवारी रेष्टुरेन्ट ‘ससःत्वा’का संस्थापक फिरोज सिंहले राख्ने यो प्रश्नको उत्तर पनि उनी आफैंसँग छ – ‘मौलिक सम्पदा र संस्कृतिको संरक्षण र समृद्धिका लागि तिनको प्रयोग।’ उनका लागि संरक्षण भनेको पुराना वस्तु सङ्ग्रहालयमा थन्क्याउने काम मात्र होइन, तिनलाई आजको जीवनशैलीसँग जोडेर आर्थिक मूल्य सिर्जना गर्नु पनि हो।
यही सोचलाई व्यवहारमा उतार्दै करिब डेढ दशकअघि कीर्तिपुरमा स्थापना भएको ससःत्वाले मौलिक नेवारी परिकार, परम्परागत वास्तुकला र स्थानीय उत्पादनलाई एउटै थलोमा जोडेको छ। यहाँ आउने पाहुनाले रेष्टुरेन्टमा प्रवेश गरेको भन्दा पनि मल्लकालीन बस्तीमा पुगेको अनुभूति गर्छन्। प्रवेशद्वारदेखि हाकुपटासी लगायतका मौलिक पोसाकमा सजिएका कर्मचारी, नेवारी परम्पराअनुसारको सगुन, सुकुलमाथि ओच्छ्याइएका चकटी र माटाका भाँडामा पस्किने परिकारले वातावरणलाई जीवन्त बनाइदिन्छ।
फिरोजका अनुसार ससःत्वाले केवल खाना बेच्दैन, एउटा जीवनशैली चिनाउँछ। उनको शब्दमा ‘विदेशी उत्पादन किनेर आफ्नो कमाई त्यतै खर्च गर्ने बानी लागेका’ नेपालीलाई नेपाली शैली, नेपाली उत्पादन र नेपाली बन्दोबस्तीका सामान प्रयोग गरेर पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण ससःत्वाले प्रस्तुत गरिरहेको छ।
यसले डेढ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने ललितपुरका सुकुल बुन्ने, भक्तपुरका कुमाले, परम्परागत भाँडा बनाउने, मौलिक खाद्यवस्तु तयार गर्ने र पुराना सीप बोकेका धेरैलाई अप्रत्यक्ष रूपमा आम्दानीको आधार दिएको छ। ७० वर्ष नाघेका हुक्काचिलिम बनाउने जेष्ठ नागरिकदेखि नेवारी मासुका परिकारमा पोख्त युवा एउटै अभियानमा जोडिएका छन्।
ससःत्वाको संरचना पनि यसको अवधारणाजस्तै मौलिक छ। काठ, माटो र इँटाले बनेका बाक्ला गारो, दलिन, निदाल, फल्चा र दबूले पुरानो नेवारी बस्तीको झल्को दिन्छन्। भोज होस् वा नियमित खानपिन, पाहुनाले परम्परागत शैलीमै बसेर सम्यबजी, छोइला, बारा, छ्याङदेखि अन्य मौलिक परिकारको स्वाद लिन सक्छन्। हुक्कासमेत आधुनिक आयातित नभई बाजेका पालाको गुडगुडे नै प्रयोग गरिन्छ।
‘ससःत्वा’ नाम पनि नेपाल भाषाको प्रचलित शब्दबाट राखिएको हो। ‘ससः’ अर्थात् ससुराली। ‘हाम्रो संस्कृतिमा रहेको ससुराली जाँदा ज्वाइँले पाउने आत्मिय स्वागत संसारका कुनै पनि तारे होटेलको भन्दा उच्च हुने भएकाले यो नाम छानिएको हो,’ सिंह बताउँछन्। उनका अनुसार पाहुनाले ससुराली पुगेजस्तै अपनत्व महसुस गरून् भन्ने उद्देश्यले यो अवधारणा विकास गरिएको हो। ज्वाइँलाई स्वागतस्वरूप पस्किने विशेष परिकारलाई ‘जिलाजँ कौलाः’ नाम दिइएको छ, जसमा बारा, माछा, गिदी, भुटन र ऐला लगायतका मौलिक परिकार समेटिएका छन्।
ससःत्वामा दैनिक करिब ३५ प्रकारका नेवारी परिकार तयार हुन्छन्। परम्परागत नेवारी भोजमा सुरुका परिकारदेखि मुख्य भोजनसम्म दर्जनौँ स्वाद एकपछि अर्को गरी पस्किने चलन यहाँ पनि जोगाइएको छ। एकैपटक करिब १२ सय जनालाई सत्कार गर्न सक्ने क्षमता भएको ससःत्वामा खुला चोक वा हलमध्ये कुन शैलीमा भोज गर्ने भन्ने छनोट ग्राहककै हुन्छ।
यही मौलिक अनुभवका लागि विदेशी पर्यटक, विदेशमा लामो समय बिताएका नेपाली र आन्तरिक पर्यटक कीर्तिपुर पुग्ने गरेका छन्। ‘विदेशमै ससःत्वाबारे सुनेर मोबाइलमा लोकेसन खोजी गर्दै यहाँ आउने थुप्रै हुन्छन् । कतिपयलाई त उनीहरुका साथीभाइ र परिवारले नेपाल घुम्न जाँदा एकपटक ससः त्वामा चाहिँ पुग्नु भनेका हुँदा रहेछन्,’ सिंह भन्छन्।
आज आकर्षणको केन्द्र बनेको ससःत्वा सुरु गर्दा भने अवस्था फरक थियो। अहिले रेष्टुरेन्ट रहेको २२ रोपनी क्षेत्र त्यतिबेला वर्षमा एकपटक धान फल्ने खेत र फोहोर फाल्ने स्थानजस्तै थियो। मुख्य बस्तीबाट टाढा, व्यापारका दृष्टिले सम्भावना कम देखिएको ठाउँमा परम्परागत शैलीको रेष्टुरेन्ट बनाउने निर्णयलाई धेरैले जोखिमपूर्ण मात्र होइन, ‘मुर्ख्याइँपूर्ण’ निर्णय भनेका थिए।

व्यवसाय सुरु भएको केही समयमै भूकम्प, नाकाबन्दी र त्यसपछि कोभिड–१९ महामारीले ठूलो चुनौती थपिदियो। त्यस अवधिमा ससःत्वाले भूकम्पपीडित, मजदुर, प्रहरी र सडकमा अलपत्र परेका कुकुरसम्मलाई खाना र पानी वितरण गर्यो। तर ती संकटबीच देखिएका दृश्यले फिरोजलाई अर्को प्रश्नले सताइरह्यो।
‘किन मानिसहरु लामो समयसम्म टहरामा बस्ने बाध्य भए ?’ त्यो प्रश्नको उत्तर नपाउँदै कोभिड–१९ को समयमा काम गर्न नपाएर थुपै मानिस भोकै सुतेको कुराले उहाँको निद्रा बिथोलियो। त्यसैबेला एउटा समाचार आयो, ‘लकडाउनका बेला घर जान काठमाडौंबाट हिँडेकी एक गर्भवती महिलाले थानकोट नजिक पुग्ने बेलामा ज्यान गुमाइन्।’
त्यही घटनापछि उनी निष्कर्षमा पुगे। ‘पाएसम्म मौलिक चिजवस्तु नै प्रयोग गर्ने र खाना खाजामा मौलिक परिकार नै रोज्नुपर्छ। नेपालका मौलिक उत्पादनहरुलाई विश्वबजारमा ‘ब्राण्डिङ’ गर्ने हो भने हामीले हाम्रो गरिबी, अभाव र पछौटेपन देखाएर अरु देशसँग सहायता माग्नै पर्दैन,’ उनी भन्छन्।
फिरोजले विदेशका विभिन्न देश घुम्दा कृत्रिम सम्पदाबाट समेत ठूलो आम्दानी भइरहेको देखेका छन्। तर, नेपालमा पुराना कला, संस्कृति, भाँडाकुँडा र खानाका परम्परा लोपोन्मुख बन्दै गएको देख्दा उनी दुःखी छन्। नेपाल हेर्न आएका विदेशीलाई पिज्जा र बर्गर खुवाउने प्रवृत्तिले पनि उनलाई सन्तुष्ट बनाएको छैन। उनका अनुसार नेपालीले आफ्नै संस्कृति चिनाउन सके पर्यटनको मूल्य अझ धेरै बढ्न सक्छ।
नयाँ पुस्ताले आफ्नै मौलिक सीप र संस्कृतिबाट टाढिँदै गएकोमा पनि चिन्ता छ। परम्परागत घर बनाउने डकर्मी र सिकर्मी हराउँदै छन्। युवाले आफ्नै धिमे, मादल, डम्फु र मुर्चुङ्गा चिन्न छाडेका छन्। तर उनलाई विश्वास छ, नेपालका हरेक समुदायसँग संसारलाई चिनाउन र बेच्न सकिने मौलिक सम्पदा प्रशस्त छन्।
‘संसारका थुपै देश पुगियो। फर्केपछि थाहा भयो, हाम्रो देश गरिब होइन, मात्र ‘ब्राण्डिङ’ र बजारीकरण नभएको मात्र रहेछ,’ उनी सुनाउँछन्। ससःत्वामा पानी राख्ने गाग्रीदेखि ऐस्ट्रेसम्म भक्तपुरका माटाका सामग्री प्रयोग गर्ने प्रयास पनि त्यही सोचको निरन्तरता हो। उनको चाहना छ, देशका अन्य ठाउँमा पनि यस्तै मौलिकतामा आधारित रेष्टुरेन्ट खुलून्, ताकि भक्तपुरका माटाका भाँडा, ललितपुरका सुकुल, खोकनाको तेल र स्थानीय सीपको बजार अझ फराकिलो बनोस्। फिरोज सिंहका लागि ससःत्वा एउटा सफल रेष्टुरेन्ट मात्र होइन, मौलिक सम्पदालाई संरक्षण गर्दै त्यसैबाट समृद्धि सम्भव छ भन्ने जीवित उदाहरण पनि बनेको छ। रासस











