फिफा विश्वकप स्टिकरको क्रेज, दुर्लभ मेस्सी स्टिकर दुई लाख डलरसम्म पुग्ने अनुमान



बिजमाण्डू
२०८३ असार १४ गते १४:४३ | Jun 28, 2026
फिफा विश्वकप स्टिकरको क्रेज, दुर्लभ मेस्सी स्टिकर दुई लाख डलरसम्म पुग्ने अनुमान

क्यान्सास सिटी (मिसौरी)। विश्वकप फुटबल सुरु भएसँगै मैदानभित्रको प्रतिस्पर्धाजस्तै मैदानबाहिर पनि अर्को पुरानो परम्पराले विभिन्न टिम र खेलाडीका समर्थकलाई फेरि एकपटक जोडिरहेको छ। जोड्ने माध्यम हो, पानिनीका विश्वकप स्टिकर र तिनलाई टाँस्ने एल्बम।

Tata
GBIME
Nepal Life

अमेरिकाको मिसौरी राज्यस्थित क्यान्सस सिटीका खेल सामग्री व्यवसायी एडम मार्टिनले मे महिनामा आफ्नो पसलमा विश्वकप स्टिकरको ठूलो खेप आइपुग्दा केही बक्स आफ्ना साथीहरूका छोराछोरीलाई उपहार दिन फर्मुला-१ रेसमा लगेका थिए। तर त्यहाँ पुगेपछि सयौं जनाले उनलाई एउटै प्रश्न गरे – ‘यी स्टिकर कहाँ पाइन्छन्?’

मार्टिनका अनुसार विश्वकप स्टिकर केवल खेल सामग्री होइन, खेलप्रेमी मात्र नभई विभिन्न उमेर, संस्कृति र पृष्ठभूमिका मानिसलाई जोड्ने साझा सम्झना बनिसकेको छ।

विश्वकप स्टिकरको इतिहास सन् १९७० देखि सुरु भएको हो। त्यतिबेला इटालीका चार दाजुभाइले एक हजार डलर तिरेर विश्वकप स्टिकर उत्पादन गर्ने अधिकार किनेका थिए। त्यसयता पाँच दशकभन्दा बढी समयदेखि विश्वभरका समर्थकले स्टिकर किन्ने, एल्बममा टाँस्ने र एकअर्कासँग साटासाट गर्ने परम्परा निरन्तर चलिरहेको छ।

यस वर्षको संस्करण भने अहिलेसम्मकै सबैभन्दा ठूलो बनेको छ। विश्वकपमा पहिलोपटक ४८ टोली सहभागी भएकाले एल्बममा कुल ९८० फरक स्टिकर समावेश छन्। बढ्दो मागका कारण धेरै पसलमा स्टिकर सकिइसकेको छ भने नयाँ अर्डर विश्वकप सकिएपछि मात्र आइपुग्ने सम्भावना रहेको बताइएको छ।

न्युयोर्क र युरोपमा पसल सञ्चालन गर्ने ‘डेभ एन्ड एडम्स कार्ड वर्ल्ड’का सहमालिक समेत रहेका मार्टिन भन्छन्, ‘हामीले महिनौँअघि गरेको अर्डर पर्याप्त हुन्छ भन्ने सोचेका थियौँ। तर माग यति धेरै बढ्यो कि दुईपटक थप अर्डर गर्नुपर्‍यो।’

पानिनी अमेरिकाका मार्केटिङ तथा खेलाडी सम्बन्ध विभागका वरिष्ठ उपाध्यक्ष जेसन होवार्थका अनुसार प्रतियोगिता सुरु हुनुअघि नै कम्पनीले दुई अर्बभन्दा बढी स्टिकर प्याक उत्पादन गरिसकेको थियो। प्रत्येक प्याकमा सातवटा स्टिकर हुन्छन्।

अप्रिल १ मा मात्रै सबै टोलीको टुंगो लागेका कारण यति छोटो समयमा यति धेरै उत्पादन गर्नु कम्पनीका लागि ठूलो उपलब्धि मानिएको छ।

सामान्यतः एउटै स्टिकरको मूल्य धेरै हुँदैन। तर पुराना संस्करणका केही स्टिकर भने अहिले सयौं डलरमा किनबेच भइरहेका छन्। विशेषगरी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको पहिलो विश्वकप संस्करणका स्टिकर दुर्लभ मानिन्छन्।

यद्यपि अधिकांश संकलकका लागि वास्तविक आकर्षण एउटै स्टिकरको मूल्य होइन, पूरै एल्बम पूरा गर्नु हो।

इङ्ग्ल्यान्डका संकलक तथा ६२ हजारभन्दा बढी सदस्य रहेको युट्युब च्यानल सञ्चालन गर्ने म्याट ब्लेजीका अनुसार युरोप र दक्षिण अमेरिकामा प्रायः हरेक बालबालिकाले जीवनको कुनै न कुनै चरणमा विश्वकप स्टिकर एल्बम पूरा गर्ने प्रयास गरेका हुन्छन्।

उनका अनुसार धेरै मानिस वयस्क भएपछि फेरि यही सोखमा फर्कन्छन्, किनभने त्यसबेला उनीहरूसँग आफ्नै कमाइ हुन्छ र बाल्यकालका ती सम्झनाहरू फेरि ताजा हुन्छन्। प्रत्येक स्टिकर प्याकको मूल्य करिब दुई अमेरिकी डलर भएकाले यो संकलन धेरैका लागि सहज पनि बनेको छ।

कतारमा भएको अघिल्लो विश्वकपदेखि पानिनीले विशेष रङको किनारा भएका दुर्लभ स्टिकर पनि उत्पादन गर्न थालेको थियो। रातो, बैजनी र सुन्तला किनारा भएका स्टिकर निकै खोजीका विषय बने भने कालो किनार भएको ‘वान अफ वान’ अर्थात् संसारमै एउटामात्र हुने स्टिकर सबैभन्दा दुर्लभ मानिन्छ।

मेस्सी, रोनाल्डो, लामिन यामाल लगायत स्टार खेलाडीका यस्ता स्टिकरका लागि संकलकहरू ठूलो रकम खर्च गर्न तयार छन्। केही विज्ञका अनुसार मेस्सीको कालो किनार भएको एउटै स्टिकर लिलामीमा दुई लाख अमेरिकी डलरसम्ममा बिक्री हुन सक्छ।

होवार्थका अनुसार कम्पनीले सामाजिक सञ्जालमार्फत यस्ता दुर्लभ स्टिकर कसले भेटायो भनेर निरन्तर निगरानी गरिरहेको छ। उनका अनुसार नेयमार, मेस्सी र रोनाल्डोको सम्भवतः यो अन्तिम विश्वकप भएकाले तिनका दुर्लभ स्टिकरको मूल्य नयाँ कीर्तिमान बन्न सक्छ।

क्यालिफोर्नियाकी कन्टेन्ट क्रिएटर साम्मी कावेसावाङले यस वर्ष पहिलोपटक विश्वकप स्टिकर एल्बम पूरा गर्ने अभियान सुरु गरिन्। उनले ९८० वटै स्टिकर एल्बममा टाँस्न ७ घण्टा ४७ मिनेट खर्चिइन्।

अहिले भने उनी भतिजालाई अर्को एल्बम पूरा गराउन सहयोग गरिरहेकी छन्।

उनका अनुसार स्टिकर संकलनको सबैभन्दा ठूलो आकर्षण एल्बम पूरा गर्नु मात्र होइन, त्यस क्रममा भेटिएका नयाँ साथीहरू हुन्। स्टिकर साटासाट गर्दै उनले विभिन्न उमेरका खेलप्रेमीसँग मित्रता गाँसेकी छन्।

यही सामुदायिक भावना नै पानिनी स्टिकरको सबैभन्दा ठूलो विशेषता मानिन्छ। डिजिटल संस्करण उपलब्ध भए पनि दोहोरिएका स्टिकर साटेर आफूलाई चाहिएको स्टिकर प्राप्त गर्ने अनुभवलाई धेरैले अझै पनि अनुपम मान्छन्।

विश्वभरका धेरै पसलले स्टिकर साटासाट कार्यक्रम आयोजना गरिरहेका छन्। न्यूयोर्कको रकफेलर सेन्टरमा पानिनीले सञ्चालन गरेको ट्रकमा हरेक साँझ हजारौं संकलक भेला हुन्छन्। अनलाइन समूह र सन्देश बोर्डमार्फत पनि संसारभरका समर्थक एकअर्कासँग जोडिएका छन्। हालै चिलीको सान्टियागोमा आयोजित स्टिकर साटासाट कार्यक्रममा करिब आठ हजार संकलक सहभागी भएका थिए।

यद्यपि यो लोकप्रिय परम्परा अब परिवर्तनको संघारमा पुगेको छ। सन् २०३० मा मोरक्को, पोर्चुगल र स्पेनमा हुने विश्वकपपछि पानिनीको फिफासँगको लाइसेन्स समाप्त हुनेछ।

त्यसपछि अमेरिकी कम्पनी ‘फ्यानाटिक्स’को स्वामित्वमा रहेको ‘टप्स’ले विश्वकपका कार्ड, स्टिकर र अन्य आधिकारिक संकलन सामग्री उत्पादन गर्ने अधिकार पाउनेछ। ब्लेजीका अनुसार धेरै संकलकका लागि यो अत्यन्त भावुक क्षण हो। पानिनी धेरै पुस्ताको बाल्यकालसँग जोडिएको नाम भएकाले यसको अन्त्य सहज रूपमा स्वीकार्न गाह्रो छ।

तर केही संकलक भने नयाँ कम्पनीले आधुनिक प्रविधि र नयाँ अवधारणासहित २०३४ को विश्वकपका लागि अझ आकर्षक स्टिकर ल्याउने आशामा पनि छन्। मार्टिनका अनुसार फ्यानाटिक्सले उत्कृष्ट उत्पादन बनाउन सक्ला, तर पानिनीले पाँच दशकभन्दा बढी समयसम्म निर्माण गरेको सांस्कृतिक प्रभाव दोहोर्‍याउन भने सजिलो हुने छैन। (एपी)