मेस्सी पछ्याउँदै एम्बाप्पे, निकैबेर रोकिएर चलेको खेलमा इराकमाथि फ्रान्सको फराकिलो जित



बिजमाण्डू
२०८३ असार ९ गते ०७:०३ | Jun 23, 2026
मेस्सी पछ्याउँदै एम्बाप्पे, निकैबेर रोकिएर चलेको खेलमा इराकमाथि फ्रान्सको फराकिलो जित
गोल सेलिब्रेट गर्दै फ्रान्सका खेलाडी। Photo: FIFA

काठमाडौं। किलियन एम्बाप्पे प्रेरित फ्रान्सले इराकमाथि प्रभावशाली जित निकालेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’को दोस्रो खेलमा फ्रान्सले इराकलाई ३-० गोलले हराएको हो।

Tata
GBIME
Nepal Life

अमेरिकाको फिलाडेल्फियामा मंगलबार बिहान सम्पन्न खेलमा कप्तान किलियन एमबाप्पेको दुई गोल र ओस्मान डेम्बेलेको एक गोलमा फ्रान्सले सहज जित निकालेको हो। योसँगै फ्रान्सले नकआउट चरणमा पनि स्थान पक्का गरेको छ।

खेलको १४औँ मिनेटमा एमबाप्पेले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो। माइकल ओलिसेको पासमा उनले बक्सबाहिरबाट प्रहार गरेको शक्तिशाली सट इराकी गोलकिपर अहमद बासिललाई झुक्याउँदै गोल भएको थियो। यो गोलसँगै एमबाप्पे विश्वकप इतिहासमा १५ गोल गर्ने चौथो खेलाडी बनेका थिए।

पहिलो हाफमा इराकले पनि केही अवसर सिर्जना गरेको थियो। खेल चलिरहँदा फिलाडेल्फियामा चट्याङ र भारी वर्षाको खतरा बढेपछि मध्यान्तरपछि खेल लामो समय रोकिएको थियो। करिब तीन घण्टापछि मात्र दोस्रो हाफ सुरु भएको थियो।

खेल पुनः सुरु भएपछि इराकले सुरुआती केही मिनेट राम्रो प्रदर्शन गरे पनि आफ्नै गल्ती महँगो साबित भयो। ५४औँ मिनेटमा गोलकिपर बासिललाई छोटो पास दिँदा भएको त्रुटिको फाइदा उठाउँदै डेम्बेलेले बल लिएर एमबाप्पेलाई पास मिलाए। एमबाप्पेले सहज रूपमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।

दोस्रो गोलपछि फ्रान्सले खेलमाथि पूर्ण नियन्त्रण जमायो। ५८औँ मिनेटमा ओलिसेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो भने ५९औँ मिनेटमा डेम्बेलेको प्रहार पनि बासिलले बचाएका थिए।

६६औँ मिनेटमा भने डेम्बेले आफैं गोलकर्ता बने। ओलिसेको सुन्दर थ्रु पासमा बक्सभित्र पुगेका उनले दायाँतर्फबाट प्रहार गर्दै बललाई जालीको तल्लो कुनामा पठाए। यो उनको विश्वकप फाइनल चरणमा पहिलो गोल थियो।

अन्तिम समयमा इराकले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। ७६औँ मिनेटमा अल हमादीको प्रहार पोस्टबाट थोरैले बाहिरिएपछि इराक सान्त्वना गोलबाट पनि वञ्चित रह्यो।

इराकविरुद्धको दुईगोलसँगै एमबाप्पेले यस विश्वकपमा चार गोल पूरा गरेका छन् भने उनको विश्वकप गोल संख्या १६ पुगेको छ। गएराति दुई गोल गर्दै विश्वकपको सर्वाधिक गोलकर्ता बनेका अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई उनले नजिकबाट पछ्याइरहेका छन्। मेस्सी विश्वकपको सर्वाधिक गोलकर्ता १८ गोलसहित रहँदा एम्बाप्पे र जर्मन लेजेन्ट मिरोस्लाभ क्लोजको समान १६ गोल छ। उनी करियरको उत्तरार्धमा रहेका मेस्सीभन्दा मात्रै दुई गोलले पछाडि छन्।