उत्कृष्ट पुनरागमन गर्दै इजिप्टले विश्वकपमा दर्ता गर्‍यो ऐतिहासिक जित



बिजमाण्डू
२०८३ असार ८ गते ०९:४२ | Jun 22, 2026
उत्कृष्ट पुनरागमन गर्दै इजिप्टले विश्वकपमा दर्ता गर्‍यो ऐतिहासिक जित
Photo: AFP

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को महत्त्वपूर्ण खेलमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्दै न्युजिल्यान्डलाई ३-१ ले पराजित गरेको छ। विश्वकपमा इजिप्टको यो पहिलो जित हो।

Tata
GBIME
Nepal Life

सोमबार भ्यानकुभरस्थित बीसी प्लेस रंगशालामा भएको खेलमा इजिप्टले ऐतिहासिक जित दर्ता गरेको हो। यस जितसँगै इजिप्टले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

खेलको १५औँ मिनेटमा टिम पेनको कर्नर पासमा फिन सर्मनले हेडमार्फत गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा इजिप्टले बराबरी गोल फर्काउन सकेन।

दोस्रो हाफमा भने इजिप्टले खेलमा प्रभावशाली पुनरागमन गर्‍यो। ५९औँ मिनेटमा मोहम्मद हानीको आकर्षक क्रसलाई मोस्तफा जिकोले हेडमार्फत गोलमा परिणत गर्दै खेल १-१ को बराबरीमा ल्याए।

बराबरीपछि इजिप्टले आक्रमणलाई थप तीव्र बनायो। ६७औँ मिनेटमा टोलीका कप्तान तथा स्टार खेलाडी मोहम्मद सलाहले गोल गर्दै इजिप्टलाई २-१ को अग्रता दिलाए। जिकोसँगको उत्कृष्ट तालमेलपछि उनले सहज फिनिसिङ गरेका थिए।

सलाहले अर्को गोलको अवसर पनि सिर्जना गरे। ८२औँ मिनेटमा उनको पासमा महमुद ट्रेजेगेटले हेडमार्फत गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे।

जितसँगै इजिप्ट चार अंकका साथ समूह ‘जी’को शीर्ष स्थानमा उक्लिएको छ। इरान र बेल्जियमको समान दुई/दुई अंक छ। न्युजिल्यान्ड भने एक अंकसहित समूहको पुछारमा छ।