हेटौँडा कपडा उद्योग पुनः संचालन गर्ने तयारी, सरकारी निकायले बढाए सक्रियता



बिजमाण्डू
२०८३ असार ८ गते ०७:२० | Jun 22, 2026
हेटौँडा कपडा उद्योग पुनः संचालन गर्ने तयारी, सरकारी निकायले बढाए सक्रियता
हेटौंडा औद्यागिक क्षेत्रभित्र रहेको हेटौंडा कपडा उद्योगको भवन। तस्बिर : वासुदेव पौडेल/रासस

हेटौँडा। लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः संचालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगन तथा सक्रियता बढाइएको छ।

Tata
GBIME
Nepal Life

हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि संचालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो। त्यसयता उक्त कपडा उद्योग पुनः संचालनमा ल्याउन पटक-पटक प्रयास भए पनि सफल हुन सकेको थिएन।

यस वर्ष यसको संचालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तवरबाट स्थलगत अनुुगमनसँगै सक्रियता बढाइएको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए।

‘कपडा उद्योगसँगै तत्कालीन समयमा नै यससँग सम्बन्धित बुटवलमा धागो कारखाना र बाँकेको नेपालगन्जमा कपास उत्पादन कारखाना पनि सँगसँगै संचालनमा ल्याइएको थियो,’ सूचना अधिकारी भण्डारीले भने, ‘हेटौँडा कपडा उद्योग बन्द भएपछि यी दुई उद्योग पनि बन्द भएका थिए।’

त्यसयता समय-समयमा यसको पुनः संचालनको प्रयास भने भइरहेको उनले जानकारी दिए। कपडा उद्योग पुनः तत्कालै संचालन गर्न सकिने अवस्थामा रहेको बताउँदै सूचना अधिकारी भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिए।

हेटौँडा कपडा उद्योगको पुनः संचालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अग्रसरता लिएको बताउँदै उनले यसबीचमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत अनुगमन गरेको बताए।

त्यस्तै, उद्योगको हेटौँडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि स्थलगत निरीक्षणसँगै जानकारी लिएको उनले बताए। मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सरकारले हेटौँडा कपडा उद्योग यसै वर्षबाट संचालनमा ल्याउने तयारी गरेको बताएकी थिइन्।

रुग्ण उद्योगहरूमध्ये हेटौँडा कपडा उद्योग सबैभन्दा पहिला संचालनमा आउने बताउँदै उनले कपडा उद्योगका लागि बुटवल धागो र कपासखेती पनि यसै वर्ष संचालनमा ल्याउने जानकारी गराएकी थिइन्। कपडा उद्योग बन्द भएसँगै उक्त उद्योग परिसरमा २०७५ सालदेखि सशस्त्र प्रहरी सुरक्षा बल १४ नम्बर गण बस्दै आएको छ। सशस्त्र प्रहरी बस्नुुअघि त्यहाँको सुुरक्षाका लागि दुई कर्मचारीमात्र थिए।

सशस्त्र बस्नुअघि लागुऔषध प्रयोग गर्ने दुर्व्यसनीहरूको अखडा बनेकामा अहिले भने उद्योग पूर्ण सुरक्षित छ। सरकारी चासोसँगै उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाइ गरिएको छ। रासस