काठमाडौं। जापानले ट्युनिसियामाथि एकतर्फी जित निकालेको छ। मेक्सिकोको एस्टाडियो मोन्टेरेमा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’को खेलमा जापानले ट्युनिसियामाथि ४-० गोलको प्रभावशाली जित निकालेको हो।
योसँगै जापानले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।
एकतर्फी खेलमा जापानले खेलको चौथो मिनेटमै अग्रता लिएको थियो। केइटो नाकामुराले बायाँ विंगबाट दिएको आकर्षक पासलाई डाइची कामाडाले नजिकको पोस्टमा उत्कृष्ट फिनिस गर्दै गोल गरे। यो गोल विश्वकपमा जापानले गरेको सबैभन्दा छिटो गोलसमेत बन्यो।
खेलको ३१औँ मिनेटमा जापानले अग्रता दोब्बर बनायो। कप्तान को इटाकुराको छोटो पासलाई आयासे उएडाले नियन्त्रणमा लिएर करिब १८ यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली सट डिफेन्डरको खुट्टामुनिबाट जाली चुम्यो।
पहिलो हाफमा ट्युनिसिया निकै कमजोर देखियो। टोलीले जम्मा एकपटक मात्र गोलतर्फ प्रहार गर्न सक्यो भने जापानले लगातार दबाब बनाइरह्यो। पहिलो हाफ २-० ले जापानको पक्षमा सकिएको थियो।
दोस्रो हाफमा पनि जापानको दबाब कायम रह्यो। ६९औँ मिनेटमा उएडाले हेडमार्फत बल जुन्या इतोलाई उपलब्ध गराएपछि इतोले डिफेन्डरलाई पछि पार्दै सहज फिनिस गरे र जापानलाई ३-० को अग्रता दिलाए।
त्यसपछि ८३औँ मिनेटमा काइशु सानोको उत्कृष्ट क्रसमा उएडाले हेडमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै जापानको शानदार जित सुनिश्चित गरे। उएडाले खेलमा दुई गोल र एक असिस्ट गर्दै म्यान अफ द म्याच प्रदर्शन गरे।
जितसँगै जापान विश्वकपको एउटै खेलमा चार वा बढी गोल गर्ने पहिलो एसियाली टोली बनेको छ। जापानले अब समूहको अन्तिम खेलमा स्विडेनको सामना गर्नेछ भने ट्युनिसियाले नेदरल्यान्ड्ससँग खेल्दै आफ्नो विश्वकप यात्रा टुंग्याउने छ।










