पहिलो खेलमा ब्राजिललाई बराबरीमा रोकेको मोरोक्कोले दोस्रो खेलमा हरायो स्कटल्याण्डलाई



बिजमाण्डू
२०८३ असार ६ गते ०५:५१ | Jun 20, 2026
पहिलो खेलमा ब्राजिललाई बराबरीमा रोकेको मोरोक्कोले दोस्रो खेलमा हरायो स्कटल्याण्डलाई
मोरोक्कोका खेलाडी। Photo: FIFA

काठमाडौं। मोरोक्कोले स्कटल्याण्डमाथि जित निकालेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डलाई १-० गोलले हराउँदै मोरोक्को नकआउट चरण नजिक पुगेको हो। आज सम्पन्न खेलको सुरुवातमै गरेको गोल नै मोरक्कोको जितका लागि निर्णायक बन्यो।

Tata
GBIME
Nepal Life

खेल सुरु भएको दोस्रो मिनेटमै इस्माइल साइबारीले उत्कृष्ट गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। ब्राहिम डियाजको सटिक पासमा दायाँ किनारबाट अघि बढेका साइबारीले बक्सभित्रबाट प्रहार गरेको बल स्कटल्यान्डका गोलरक्षक एङ्गस गनलाई कुनै मौका नदिई जाली चुमाएका थिए।

यो गोल साइबारीको लगातार दोस्रो विश्वकप खेलमा दोस्रो गोल हो। साथै, प्रतियोगिताको हालसम्मकै सबैभन्दा छिटो गोलसमेत बनेको छ। साइबारी विश्वकपका लगातार दुई खेलमा गोल गर्ने पहिलो मोरक्कन खेलाडीसमेत बने।

प्रारम्भिक गोलपछि मोरक्कोले खेलमा निरन्तर दबाब कायम राख्यो। अचरफ हकिमी, अजेदिन उनाही र ब्राहिम डियाजले आक्रमणको नेतृत्व गर्दा स्कटल्यान्डको रक्षापंक्ति निकै दबाबमा देखियो। खेलको १०औं मिनेटमा उनाहीको पासमा दोस्रो गोल गर्ने अवसर बने पनि मोरक्कोका खेलाडीले त्यसलाई सदुपयोग गर्न सकेनन्।

पहिलो हाफमा स्कटल्यान्डले खासै प्रभाव जमाउन सकेन। कप्तान जोन म्याकगिन, स्कट म्याकटोमिने र चे एडम्सले केही प्रयास गरे पनि मोरक्कोका गोलरक्षक यासिन बोनुले सहजै नियन्त्रण गरे।

दोस्रो हाफमा स्कटल्यान्डले खेलमा फर्कने प्रयास गर्‍यो। प्रशिक्षक स्टिभ क्लार्कले बेन ग्यानन–डोक, लिन्डन डाइकस र केनी म्याकलिनलाई मैदानमा उतारेपछि टोली केही आक्रामक देखियो। ६४औं मिनेटमा रायन क्रिस्टीको प्रहार बारमाथिबाट बाहिरियो भने ८६औं मिनेटमा डाइकसको हेडर लक्ष्यभन्दा बाहिर गयो।

स्कटल्यान्डले खेलको अन्त्यतिर बराबरीका लागि लगातार दबाब बनाएको थियो। तर मोरक्कोको बलियो डिफेन्सका कारण गोल गर्न भने असफल रह्यो। इन्जुरी समयमा मोरक्कोले पनि काउन्टरअट्याकबाट अग्रता दोब्बर बनाउने अवसर बनाए पनि सफल हुन सकेन।

यस जितसँगै मोरक्कोले समूह ‘सी’ मा लगातार दोस्रो जित दर्ता गर्दै अंकतालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ। पहिलो खेलमा हाइटीलाई हराएको स्कटल्यान्ड भने दोस्रो खेलमा पराजित भएपछि अन्तिम खेलको नतिजामा निर्भर हुने अवस्थामा पुगेको छ।

आजै यही समूहका ब्राजिल र हाइटी पनि आमनेसामने हुँदैछन्।