काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुलुकमा पञ्चायतकालमा जस्तै भूमिगत गिरोह हाबी हुन थालेको बताएको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद खडकबहादुर बूढाले प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका सदस्यले अख्तियारका पदाधिकारी र जर्मनीका राजदूतमाथि गरेको दूर्व्यवहारलाई लिएर मुलुकमा भूमिगत गिरोह हाबी हुन थालेको बताएका हुन्।
‘कुनैबेला केटाकेटी छँदा पञ्चायतकालमा भूमिगत गिरोहबारे मैले सुनेको थिएँ। ठ्याक्कै आज लोकतान्त्रिक गणतन्त्रमा पनि त्यही खालको गिरोहको चर्चा हुन थालेको छ। प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरु को हुन्? तिनीहरु संविधान र कानुनले नचिनेका केवल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरु कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन्,’ उनले भने।
बालेनको सचिवालयका सदस्यले पासपोर्ट छपाइको ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियारका पदाधिकारीलाई बोलाएर ७ घण्टाभन्दा बढी समय प्रधानमन्त्री कार्यालमा राखेर ठेक्काको निर्णय प्रक्रियामा संलग्नहरुलाई पक्राउ गर्न दबाब दिएका थिए। उनीहरुले जर्मनीका राजदूतलाई समेत तीन घण्टा भन्दा बढि कुराएर दूर्व्यवहार गरेका थिए।
कांग्रेस सांसद बूढाले यसलाई अदृष्य गिरोहको जंगलराजको संज्ञा दिए। ‘हामी यो देशमा विधिको शासन चलाउँदैछौं कि सिंहदरबारभित्र कुनै अदृष्य गिरोहको जंगलराज जन्माउँदैछौं?,’ उनले भने, ‘सिंगो देश आज स्तब्ध छ। संविधानमा विश्वास गर्नेहरु आज सरकारको यो स्वेच्छाचारिता देखेर अचम्मित भएका छन्। अख्तियार कसैको गोजीको संस्था कदापि होइन। आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इशारामा निर्णय गराउँछ भने भोली प्रधानमन्त्रीले बद्मासी गर्दा कसले छानबिन गर्ने?’









