भारतको अवरोधले संकटमा नेपाली चिया, इलामपछि झापाका ३६ उद्योग बन्दको घोषणा



बिजमाण्डू
२०८३ असार ३ गते २०:२१ | Jun 17, 2026
भारतको अवरोधले संकटमा नेपाली चिया, इलामपछि झापाका ३६ उद्योग बन्दको घोषणा

विराटनगर। भारतीय चिया बोर्डले गुणस्तर परीक्षणका नाममा वैशाख १८ देखि गैरभन्सार अवरोध खडा गरेपछि असार १ देखि इलामका ८३ वटा चिया उद्योग बन्द भएका थिए। दोस्रो चरणमा असार ४ देखि झापाका उद्योग बन्द हुने भएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल चिया उत्पादक संघले बुधकार पत्रकार सम्मेलन गर्दै असार ४ देखि सबै उद्योग बन्द गर्न बाध्य हुनुपरेको जनाएको हो। संघका अध्यक्ष आदित्य पराजुलीले बिहीबारदेखि झापाका थप ३६ वटा उद्योग बन्द हुने बताए ।

अध्यक्ष पराजुलीका अनुसार झापाका उद्योगले सीटीसी चिया उत्पादन गर्दछन्। सामान्यतया दुधको मिश्रण गरेर आम रूपमा उपभोग गर्ने चियालाई सीटीसी (क्रस, टीयर एन्ड कर्ल) चिया भन्ने गरिन्छ।

पराजुलीले झापामा रहेका सबै चिया उद्योग ठूला लगानीमा रहेको बताए।

‘भारतीय चिया बोर्डले स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजुर (एसओपी) लागू गरेपछि नेपाली चिया निर्यातमा झन ठूलो बाधा पुगेको छ। विभिन्न प्रकारका गुणस्तर जाँच, जोखिमपूर्ण र अपारदर्शी नतिजा तथा भण्डारणको अभावजस्ता जटिल समस्याका कारण चिया निर्यात हुन सकिरहेको छैन’, पराजुलीले भने।

संघले निर्यात गरिएको चिया पनि भारतीय खरिदकर्ताका गोदाममा राख्नुपरेको र बोर्डले त्यही चियाबाट नमुना लाने गरेको जनाएको छ।

विज्ञप्तिमा बोर्डले परीक्षणको रिपोर्ट दिन २० देखि २५ दिनसम्म लगाउने गरेको कारणबाट गोदाममा थन्किएको चियाको गुणस्तरमा क्षति भएको उल्लेख छ।

त्यस्तै बोर्डले लगेको नमुनाको गुणस्तर कमजोर देखिए गोदामको चिया नै नष्ट गर्नुपर्नेजस्ता अव्यावहारिक नियम थपिएको संघले गुनासो गरेको छ।

अध्यक्ष पराजुलीले सुनाए, ‘यी सबै कारणले नेपाली चिया उद्योगले गएको चियाको पैसा पाउने–नपाउने टुंगो छैन तर परीक्षणका लागि लिएर गएको चियाको परीक्षण कालभरिको गोदाम शुल्क भने अनिवार्य रूपमा तिर्नुपरेको छ। यसले गर्दा उद्योगले किसानलाई हरियो चियापत्तीको मूल्य, विद्युत् महसुल, भ्याट समेत समयमा दिन नसक्ने अवस्था उत्पन्न भएको छ।’

उनले यस्तो विषम परिस्थितिमा सबै उद्योगी आआफ्ना उद्योग बन्द गर्न बाध्य भएको जानकारी दिए।

संघका निवर्तमान अध्यक्ष सुरेश मित्तलले नेपालबाट वार्षिक ४ देखि ५ अर्बको चिया निकासी हुने र यसमध्ये ९५ प्रतिशतभन्दा बढी अंश भारत नै जानेगरेको बताए।

उद्योगी मित्तलले चिया क्षेत्रमा ६० हजारभन्दा बढीले रोजगारी पाइरहेको र झापामा वार्षिक १ करोड ५० लाख किलो चियाको उत्पादन भइरहेको दाबी गरे।

मित्तलका अनुसार ठुला उद्योग मात्र भएको झापामा सानो तहको उद्योग पनि वार्षिक ४ सय टन क्षमताको छ।

‘चियाका बहुआयामिक फाइदा छन् । इलामको सौन्दर्यको मूल आधार चियाखेती नै हो। त्यहाँको पर्यटनको एउटा मुख्य कारण चियाखेती पनि हो। यसले पर्यापर्यटनको विस्तार गरेको छ र वातावरण सन्तुलनमा पनि योगदान गरेको छ’, उनले भने।

यसैबिच नेउवा महासंघ कोशी प्रदेशले सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरेर चियाको समस्या समाधान गर्न आग्रह गरेको छ।

महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले विज्ञप्तिमार्फत् भारतीय पक्षबाट लागू गरिएको नयाँ व्यवस्थाले ठूलो परिमाणमा तयारी चिया सीमानाकामा रोकिएको बताए।

अध्यक्ष राउतका अनुसार यसका कारण उद्योगमा तयारी चियाको मौज्दात बढेर गोदाम नै भरिँदा नयाँ उत्पादन गर्ने अवस्था नभएको, नगद प्रवाहमा गम्भीर समस्या देखिएको तथा उद्योगीसहित किसान र श्रमिक गरी हजारौँ जना प्रत्यक्ष मारमा परेको अवस्था छ।

महासंघ केन्द्रीय समितिले छुट्टै विज्ञप्ति प्रकाशित गर्दै नेपाली वस्तुको निर्यातमा आउने गुणस्तरसँग सम्बन्धित अवरोध हटाउन नेपालमा एक्रिडिटेड ल्याबको स्थापना आवश्यक भएको जिकिर गरेको छ।

‘महासंघले लामो समयदेखि नेपाल सरकारसमक्ष एक्रिडिटेड ल्याब स्थापनाका लागि माग गर्दै आएको छ। नेपाली वस्तुको निर्यातमा उठ्ने गुणस्तरको मुद्दा लगायतका समस्या समाधानका लागि यो ल्याब तत्काल स्थापना गरिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ।