इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले सम्हाले जिम्मेवारी, कार्कीले दिए यस्तो सुझाव



बिजमाण्डू
२०८३ असार ३ गते १८:५० | Jun 17, 2026
इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले सम्हाले जिम्मेवारी, कार्कीले दिए यस्तो सुझाव
मोहन डाँगी

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले जिम्मेवारी सम्हालेका छन्।

Tata
GBIME
Nepal Life

जेठ २९ गते भएको ८औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित डाँगीले बुधबार इप्पानको नेतृत्व सम्हालेका हुन्। उनलाई इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले कार्यालयमा स्वागत गरेका थिए।

डाँगीले ऊर्जा उद्यमीहरुलाई एकढिक्का बनाएर काम गर्ने प्रतिबद्धता जनाए। ‘चुनावका बेला जे भयो, सकियो। अब हामी एक ढिक्का भएर काम गर्नेछौं,’ उनले भने, ‘कार्यसमितिमा आउनुभएका सबै साथीहरुलाई पूर्ण अधिकारसहित विभिन्न जिम्मेवारी दिएर काम गर्नेछु।’

मोहन डाँगीसँगै इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्की र वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन

डाँगीले यसअघि तीनवटा कार्यसमितिमा बसेर काम गरिसकेका छन्। निवर्तमान अध्यक्ष कार्कीले सार्वजनिक मञ्चहरुमा बोल्दा ख्याल गर्न डाँगीलाई सुझाव दिए।

‘कार्यसमितिको सदस्यले बोल्दा पनि अध्यक्षले जिम्मा लिनुपर्छ। त्यसैले बाहिर बोल्दा सल्लाह गरेर मात्रै बोल्नुपर्छ। कुनै कुराको पूर्णजानकारी छैन भने पछि कुरा गरौंला भनेर भन्नसक्नुपर्छ,’ कार्कीले भने, ‘बोल्दा सजगता अपनाउन सकिएन भने १५ खर्ब रुपैयाँ लगानी भएको सिंगो क्षेत्रले नै त्यसको मूल्य चुकाउनुपर्छ।’

इप्पानका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले ऊर्जा क्षेत्रका मुद्दामा एक भएर काम गर्ने बताए।