सुनौलो रौँको झुस्स परेको टाउको र करिब ७०० किलोग्राम (१,५०० पाउन्ड) तौल भएको यो जनावरले पछिल्ला दिन बंगलादेशको राजधानी ढाकामा विभिन्न भागबाट आएका भीडलाई आकर्षित गरिरहेको छ। यो दुर्लभ सेतो भैंसी गत साता राष्ट्रिय चिडियाखानामा ल्याइएपछि चर्चाको केन्द्र बनेको हो।
यो जनावर त्यतिबेला भाइरल भयो जब एक किसानले यसको टाउकोमा रहेको सुनौलो रौँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिचान झल्काउने शैलीसँग मिल्दोजुल्दो देखिएको बताए। त्यसपछि सामाजिक सञ्जालमा यसको भिडियो फैलिँदै जाँदा ढाका बाहिरको फार्ममा मानिसहरू यसलाई हेर्न ठूलो संख्यामा आउन थाले।
यो राँगोलाई इद पर्वका लागि काट्ने तयारी थियो। तर यसको चर्चाले सरकारको ध्यानाकर्षण गर्यो। सुरक्षासम्बन्धी कारण देखाउँदै सरकारको आदेशपछि यसलाई राजधानीको चिडियाखानामा सारियो। जहाँ अहिले चर्को गर्मीबीच पनि मानिसहरू यसलाई हेर्न लाइन लागिरहेका छन्।
मंगलबार आगन्तुकहरू बारको छेउमा भीड गर्दै मोबाइलले भिडियो खिचिरहेका थिए। केही अभिभावकहरूले आफ्ना साना बच्चालाई काँधमा बोकेर राम्रोसँग देखाइरहेका थिए। चिडियाखानाका कर्मचारीले जनावरलाई पानी छर्केर रौँ मिलाइदिएर तथा पंखा चलाएर चिसो राख्ने प्रयास गरिरहेका थिए।

ढाकाका विद्यार्थी मोहम्मद नासिमले भने, ‘यसको आँखा, कपाल र छालामा डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो विशेषताको देखिन्छ। यो जनावर पनि भाइरल भएपछि अहिले विशेष ध्यान र हेरचाह पाइरहेको छ।’
स्थानीय सञ्चारमाध्यमका अनुसार सुरुमा यसको खोरमा ‘डोनाल्ड ट्रम्प’ लेखिएको बोर्ड पनि राखिएको थियो, जुन पछि हटाइयो। चिडियाखानाका क्युरेटरलाई शनिबार बर्खास्त गरिएको भए पनि कारण आधिकारिक रूपमा खुलाइएको छैन।
कतिपयले भने यस्तो नामकरणलाई आपत्तिजनक भनेका छन्।
ढाकाका निवासी मोहम्मद जोयनल अदेदिनले भने, ‘विश्वका प्रभावशाली नेतामध्ये एकको नाम जनावरलाई दिनु गलत थियो। यो सम्मानजनक होइन।’
यो भैंसी ईद अल-अदाअघि बिक्री गरिएको थियो। तर गृह मन्त्रालयको आदेशपछि प्रहरीले यसलाई नियन्त्रणमा लिएर खरिदकर्तालाई पैसा फिर्ता गरेको थियो।
दक्षिणपश्चिम बंगलादेशको जोशोर शहरबाट आएका मोहम्मद हबीबुर रहमानले भने, ‘सामाजिक सञ्जालमा ‘डोनाल्ड ट्रम्प’ बलि दिइनेछ भन्ने पोस्ट देखिरहेको थिएँ। पछि त्यो जनावर बलि नभई चिडियाखानामा राखिएको सुनेँ, त्यसैले हेर्न आएको हुँ।’
यो भैंसी सेतो देखिनुको मुख्य कारण यसमा देखिएको दुर्लभ जैविक अवस्था हो, जसलाई अल्बिनिज्म भनिन्छ। अल्बिनिज्म भएका जन्तुको जिउमा मेलेनिन नामक रङ उत्पादन गर्ने तत्वको कमी हुन्छ, जसका कारण छाला, रौँ र कहिलेकाहीँ आँखासमेत फिक्का वा सेतो देखिन्छ। यस्तो अवस्था आनुवंशिक परिवर्तनका कारण हुन्छ र जन्मजात नै देखिन्छ। यही कारणले यो भैंसी सामान्य कालो वा खैरो रंगको सट्टा सेतो देखिएको हो। यस्ता जनावर दुर्लभ हुने भएकाले मानिसहरूको ध्यान आकर्षित गर्छन्।
बंगलादेशको यो भैंसी पनि आफ्नो अनौठो रूपका कारण सामाजिक सञ्जालमा भाइरल बनेको हो र चिडियाखानामा ठूलो भीड तानिरहेको छ।











