सम्पत्ति छानबिन आयोगमा बुझाउन तलबी आम्दानीको निस्सा खोज्दै कर्मचारी, पूर्वन्यायाधीशले नबुझाउने



बिजमाण्डू
२०८३ जेठ २१ गते ११:४३ | Jun 4, 2026
सम्पत्ति छानबिन आयोगमा बुझाउन तलबी आम्दानीको निस्सा खोज्दै कर्मचारी, पूर्वन्यायाधीशले नबुझाउने
सम्पत्ति छानबिन आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारी

काठमाडौं। सम्पत्ति छानबिन आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाउने विषयलाई लिएर राष्ट्रिय किताबखानामा कर्मचारीहरुले सम्पर्क गर्ने क्रम ह्वात्तै बढेको छ।

Tata
GBIME
Nepal Life

आयोगमा तलबी आम्दानीको निस्सा पेस गर्ने विषयलाई लिएर किताबखानामा बहालवाला र अवकाशप्राप्त कर्मचारीहरुले सम्पर्क गर्ने क्रम ह्वात्तै बढेको हो। किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले तलबी आम्दानीको निस्सा पेस गर्ने सम्बन्धमा बुझ्नेको अत्यधिक चाप बढेको जानकारी दिए।

आयोगमा निजामतीतर्फ उपसचिव वा सोभन्दा माथिल्लो तहमा बहाल वा निवृत कमचारीले सम्पत्ति विवरण बुझाउनुपर्छ। सम्पत्ति विवरण बुझाउन आयोगले वैशाख मसान्तमा सूचना निकालेको थियो।

बहालवाला र अवकाशप्राप्त कर्मचारीले सम्पर्क गर्ने क्रम बढेपछि किताबखानाले अनलाइनबाटै सबै सुविधा लिन सकिने बताएको छ।

‘हामीले आफ्ना सवै सेवालाई फेसलेस बनाइसकेका छौं। कसैले पनि किताबखानामा धाइरहनुपर्दैन। हामीले डिजिटल डकुमेन्ट एक्सेस सर्भिस सुरुवात गरिसकेका छौं,’ महानिर्देशक पोखरेलले भने, ‘हाम्रो वेबसाइटमा २०१७ सालदेखिको पद , तलब स्केल र ग्रेडको पूर्ण विवरण राखिएको छ।’

उता पूर्वन्यायाधीश फोरमले भने सम्पत्ति विवरण नबुझाउने निर्णय गरेको छ। फोरमले जेठ १७ गते काठमाडौंमा वृहत भेला गरेर आयोगमा सम्पत्ति विवरण नबुझाउने निर्णय गरेको सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंहले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।