सरकारी कार्यालय र शिक्षण संस्था अब वर्षमा चार महिनाभन्दा बढी बन्द, तनावमा कामकाजी अभिभावक



बिजमाण्डू
२०८२ चैत्र २७ गते १५:१३ | Apr 10, 2026
सरकारी कार्यालय र शिक्षण संस्था अब वर्षमा चार महिनाभन्दा बढी बन्द, तनावमा कामकाजी अभिभावक
बालेन्द्र शाह र सस्मित पोखरेल

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले चैत २२ गते मन्त्रिपरिषद् बैठक राखेर सरकारी कार्यालय र शिक्षा संस्थामा अबदेखि सातामा शनिबारका साथै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरे। त्यसै दिन विद्यालयमा नयाँ शैक्षिक सत्र वैशाख १५ गते सुरु गर्ने निर्णय गरियो।

Tata
GBIME
Nepal Life

शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार वैशाख १५ बाट भर्ना अभियान सुरु गरी कक्षा संचालन वैशाख २१ गते मात्र सुरु गर्न फर्मान जारी गरे। जबकि विद्यालय शिक्षाको अधिकार स्थानीय तह मातहत पर्छ।

आइतबार पनि बिदा दिने निर्णयका कारण सरकारी कार्यालय अब कति दिन खुल्छन्? मन्त्रिपरिषद्को निर्णय र सस्मितको उर्दीले शिक्षण संस्थामा के कस्तो प्रभाव पर्छ त?

यसअघि शैक्षिक सत्र वैशाख २ गते सुरु हुन्थ्यो। अधिकांश विद्यालय त्यसै दिनबाट खुल्थे। कतिपय विद्यालयले एक सातासम्म भर्ना संचालन गरी त्यसपछि कक्षा सुरु गर्थे।

यसपालि पनि विद्यालयहरू विगतका वर्षमै जस्तो तयारीमा थिए। तर, नयाँ सरकारको निर्णयपछि खासगरी निजी विद्यालयहरूले पूर्वनिर्धारित तालिका प्रभावित भयो भनेर अभिभावकलाई धमाधम फोन गर्न थालेका छन्। विद्यालयहरूलाई सातामा २ दिने बिदाका कारण अब पाठ्यक्रम कसरी सक्ने भन्ने पिरलो अहिले नै देखिएको छ।

‘सातामा शनिबार बाहेक विभिन्न चाडपर्व र दिवसका नाममा धेरै बिदा हुँदा हामीलाई यसअघि नै पाठ्यक्रम पूरा गर्न गाह्रो पर्थ्यो। अब आइतबार पनि बिदा भनेपछि त धेरै कठिन हुने अवस्था निम्तिएको छ। अझ वैशाख २१ गते नभइ पठन पाठन सुरु नगर्नू भनिएको छ। नयाँले के गर्न खोजेका हुन् बुझिनसक्नु भयो,’ काठमाडौंको एक चलेको विद्यालयका संचालकले भने, ‘हामीले बालबालिकालाई जाडो र गर्मीमा पनि बिदा दिनुपर्ने हुन्छ। अनि कति दिन पढाउने?’

विद्यालय सञ्चालकभन्दा बढी तनावमा छन् अभिभावक। ‘कार्यालय समय ९ बजे सुरु हुने र सातामा दुई दिन बिदा हाम्रो सामाजिक सांस्कृतिक पक्ष हेर्दा व्यवहारिक छैन,’ सरकारी कर्मचारीसमेत रहेका एक अभिभावकले भने, ‘यसअघि बच्चालाई स्कुल छोडेर कार्यालय जाने गरिएको थियो। तर अब ९ बजे कार्यालय पुगिसक्नुपर्छ। अब बच्चालाई कसरी स्कुल पुर्‍याउने? अझ सातामा दुई दिन बिदा दिएपछि बच्चाहरुले स्कुलमा के सिक्छन्?’

निजी क्षेत्रमा काम गर्नेहरु त दुई दिने बिदाका कारण थप पिरोलिएका छन्। उनीहरुलाई अब हरेक आइतबार बच्चा कसको जिम्मा लगाउने भन्ने चिन्ता थपिएको छ।

‘यसअघि अफिस र विद्यालयको बिदा एकैदिन हुँदा एडजस्ट गर्न समस्या थिएन। तर अब विद्यालय दुई दिन बन्द भएपछि हामीले बच्चालाई कहाँ छोडेर कार्यालय जाने? हाम्रो अफिसमा त आइतबार बिदा हुँदैन,’ निजी क्षेत्रमा काम गर्ने अधिकांश अभिभावकको भनाइ छ, ‘घरमा बच्चा हेर्नका लागि त हामीले बिदा पाउँदैनौं। सरकारले व्यवहारिक पक्ष राम्रोसँग अध्ययन नै नगरी हचुवाका भरमा निर्णय गर्नाले अहिले हामीलाई व्यर्थैको टेन्सन थपिएको छ।’

निजी क्षेत्रमा काम गर्ने अभिभावकको संख्या ठूलो छ। आफैं पसल व्यवसाय गर्ने अभिभावकहरुले पनि सरकारी निर्णय रुचाएका छैनन्। उनीहरुले घरमा बच्चा हेर्नका लागि हरेक आइतबार पसल व्यवसाय बन्द गर्नुपर्ने अवस्था निम्तिएको छ।

अभिभावक र विद्यालय संचालकहरूको पिरलो नाजायज छैन।

वर्षमा ३५ दिनमध्ये अब शनिबार र आइतबार दुई दिन बिदा दिँदा १०४ दिन विद्यालय बन्द रहन्छन्। त्यसबाहेक विभिन्न चाडपर्व, दिवस र जात्राका नाममा २६ दिन बिदा परेको छ। अर्थात् शिक्षण संस्था र सरकारी कार्यालय अब १३० दिन अर्थात ४ महिना र १० दिन बालेनले चैत २२ गते गरेको निर्णयका कारण बन्द हुनेछन्।

यो संख्या अझ बढ्न सक्थ्यो। कतिपय चाडपर्व र दिवस सार्वजनिक बिदाकै दिन परेका कारण १३० दिनबाट बढ्न नपाएको हो।

सरकारले गत फागुन १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार २०८३ मा नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मंगलबार, बुद्ध जयन्ती र मजदूर दिवस वैशाख १८ गते शुक्रबार, गणतन्त्र दिवस जेठ १५ गते शुक्रबार, रक्षाबन्धन भदौ १२ गते शुक्रबार र कृष्ण जन्मअष्टमी भदौ १९ गते शुक्रबार परेको छ।

असोज ३१ देखि कात्तिक ६ सम्म सात दिन दसैं बिदा हुँदा २ देखि ६ गतेसम्म सोमबारदेखि शुक्रबार पर्छ। असोज २५ गते घटस्थापनाको दिन भने आइतबार परेको छ। यस्तै कात्तिक २२ देखि २६ गतेसम्मको तिहार बिदामा पहिलो दिन आइतबार पर्छ।

धान्यपूर्णिमा पुस ९ गते बिहीबार, क्रिसमस पुस १० गते शुक्रबार, तमु ल्होसार पुस १५ गते बुधबार, पृथ्वी जयन्ती पुस २७ गते सोमबार, माघे सक्रान्ति शुक्रबार, प्रजातन्त्र दिवस शुक्रबार र अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ सोमबार परेका छन्। काठमाडौं उपत्यकामा असोज ९ गते शुक्रबार इन्द्रजात्रा र चैत २३ गते मंगलबार घोडेजात्रा बिदा हुनेछ।

छठ पर्व, संविधान दिवस, सोनम ल्होसार, महाशिवरात्री, काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रको होली र गाइजात्रा २०८३ मा बिदाकै दिनमा परेका छन्।

काठमाडौं उपत्यकामा बिदा दिइने गाइजात्रा भदौ १३ गते शनिबार, छठ कात्तिक २९ गते आइतबार, संविधान दिवस शनिबार, सोनम ल्होसार माघ २४ गते आइतबार, महाशिवरात्री फागुन २२ गते शनिबार र फागुपूर्णिमा चैत ७ गते आइतबार परेका छन्।

यसबाहेक इदका अवसरमा २ दिन बिदा हुनेछ। त्यसको मिति सरकारी क्यालेण्डरमा अहिले तोकिएको छैन। त्यस्तै, भोटो देखाउने दिन पनि उपत्यकामा बिदा हुनेछ। त्यसको मिति पनि तोकिएको छैन।

महिलाहरूले तीज मनाउन भदौ २९ गते सोमबार बिदा पाउनेछन्। माघ २८ गते बिहीबार शिक्षण संस्थामा वसन्त पञ्चमीको बिदा हुनेछ।