बिचौलिया पक्राउपछि लेखपढी व्यवसायी आन्दोलित, ‘मालपोतमा हामीले काम गर्न पाउनुपर्‍यो’



बिजमाण्डू
२०८२ चैत्र २३ गते १९:०८ | Apr 6, 2026
बिचौलिया पक्राउपछि लेखपढी व्यवसायी आन्दोलित, ‘मालपोतमा हामीले काम गर्न पाउनुपर्‍यो’

काठमाडौं। मालपोत र नापी कार्यालयबाट प्रहरीले अनधिकृत व्यक्ति(बिचौलिया) पक्राउ गर्न थालेपछि लेखपढी व्यवसायी आन्दोलित भएका छन्। प्रहरीले आइतबार लगनखेल मालपोतबाट बिचौलियालाई पक्राउ गरेपछि लेखपढी व्यवसायी आन्दोलित भएका हुन्।

Tata
GBIME
Nepal Life

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, ललितपुरका अध्यक्ष दीपक केसीले भूसेवा केन्द्रसमेत सञ्चालन गर्ने अनुमति पाएका लेखपढी व्यवसायीलाई बिचौलिया भनेर धरपकड गरेकोले आफूहरु आन्दोलनमा उत्रिएको बताए।

‘लगनखेल मालपोतबाट भूसेवा केन्द्रका ११ जना सञ्चालकदेखि सेवाग्राहीसम्मलाई पक्राउ गरिएको रहेछ,’ अध्यक्ष केसीले भने, ‘यसैको विरोधमा हामीले कलम बन्द गरेका हौं।‘

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनमा भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत तथा नापी कार्यालयलाई बिचौलियामुक्त बनाउन भन्दै फागुन १५ गते परिपत्र गरेको थियो।

‘हामीले अनधिकृत व्यक्तिलाई पस्न नदिने भनेको हौं। देशभर यो कार्यान्वयनमा भइरहेको छ,’ मन्त्रालयका प्रवक्ता गणेश भट्टले भने।

मालपोत कार्यालयमा लेखपढी व्यवसायीमाथि धरपकड गरेको भन्दै पर्सा मालपोतमा अनिश्चितकालीन हड्ताल सुरु गरिएको छ। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा व्यवसायीले सोमबारदेखि आफ्नो सेवा ठप्प पारेका हुन्।

प्रहरीले पर्साको पोखरिया मालपोत कार्यालयबाट तीन जना पक्राउ गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन्। भक्तपुर मालपोतमा प्रवेश नदिएको भन्दै त्यहाँका लेखपढी व्यवसायीले आइतबार आन्दोलनमा उत्रने चेतावनी दिएका थिए।

पछिल्ला दिनमा प्रहरीले रौतहट, दाङ, सर्लाहीलगायत जिल्लाका मालपोत कार्यालयबाट बिचौलियालाई नियन्त्रणमा लिइरहेको छ।

सरकारले मालपोतका कामलाई प्रविधिमैत्री बनाउन पाँच वर्षअघि भू-सेवा केन्द्रको अवधारणा ल्याएको थियो। जसअन्तर्गत ५० हजार रुपैयाँ धरौटी र वार्षिक ३ हजार रुपैयाँ नवीकरण शुल्क बुझाएर लाइसेन्स लिएका लेखापढी व्यवसायीले अनलाइनमार्फत जग्गा खरिद बिक्रीको विवरण भर्ने काम गर्दै आएका छन्।

जिल्ला अदालतबाट परीक्षा उत्तीर्ण गरी लाइसेन्स लिएका र सरकारकै अनुमतिमा भू-सेवा सञ्चालन गरेका व्यवसायीलाई अहिले बिचौलिया भन्दै पक्राउ गरिनु अन्यायपूर्ण भएको अध्यक्ष केसीले बताए।

‘अहिले घरजग्गा किनबेच त्यसै ओरालो लागेको छ। यस्तो बेला सरकारले सहजीकरण गरेर व्यवसाय गर्ने वातावरण बनाउनुपर्नेमा एकले अर्कोलाई आरोप लगाएर काम छैन,’ केसीले भने।

सरकारले भू-सेवाका लागि युजर आईडी र पासवर्ड उपलब्ध गराएको अवस्थामा लेखापढी व्यवसायीलाई बिचौलिया भन्न नमिल्ने केसीको भनाइ छ। हाल मालपोतका सबै काम अनलाइन प्रणालीबाट हुन्छ।

साधारण सेवाग्राही आफैंले श्रेस्ता तयार पार्न र अनलाइन विवरण भर्न नसक्ने भएकाले भूसेवा केन्द्रका सञ्चालकले सघाउने गरेका छन्। यी काम गर्नुपर्ने कर्मचारी पन्छिँदा भूसेवा केन्द्रका सञ्चालक मालपोत कार्यालयसम्म पुग्नुपर्ने बाध्यता रहेको लेखपढी व्यवसायीको भनाइ छ।

‘धेरैजसो समय सिस्टममा समस्या आउँछ। हाकिमहरुले लेख्ने भिडाउने काम गर्दैनन्। त्यसपछि हामी मालपोत अफिस पुग्नैपर्छ,’ एक व्यवसायीले भने।

मन्त्रालयका प्रवक्ता भट्टले पछिल्लो परिस्थितबारे जानकारी लिइरहेको भन्दै आवश्यक सहजीकरण गर्ने बताए। ‘हामीले भूसेवाको लाइसेन्स पाएकालाई नपस्नु भनेको होइन। स्थानीय प्रशासनले धरपकड गरेको हुनसक्छ,’ प्रवक्ता भट्टले भने, ‘यसबारे थप के हुन सक्छ हामी छलफल गर्छौं।‘