काठमाडौं। कामना सेवा विकास बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।
नेप्सेले बैंकसँग सोमबार सम्झौता गरी प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँको ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता सेयर सूचीकृत गरेको छ। कम्पनीको सेयर दोस्रो बजारमा मंगलबारदेखि कारोबारमा आउनेछ। अग्राधिकार सेयरको प्रतिफल ९ प्रतिशत छ।
सर्वसाधारण लगानीकर्ता, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर र सामूहिक कोषले यो सेयर खरिदबिक्री गर्न पाउँदैनन्। अविमोच्य असञ्चिति अग्राधिकार सेयर अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो।
नेपाल राष्ट्र बैंकले बैंकहरुको पुँजीकोष दबाब कम गर्न वैकल्पिक उपकरणको रुपमा अग्राधिकार सेयर जारी गर्न स्वीकृति दिएपछि कामना सेवाले सेबोनबाट अनुमति लिएर बिक्री गरेको थियो। यसमा वितरणयोग्य मुनाफा आर्जन गरेको वर्ष मात्र कम्पनीले लाभांश वितरण गर्छ।










